काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले सातवटा सहकारी संस्थामार्फत मल वितरण गर्ने व्यवस्था मिलाएको छ।
गाउँ कार्यपालिकाको कार्यालय लक्ष्मीनियाँले कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामबाट प्राप्त विवरणका आधारमा गाउँपालिकाभित्रका सहकारी संस्थाहरूको कार्यक्षेत्रअनुसार रासायनिक मलको कोटा निर्धारण गरेको हो।
गाउँपालिकाले वडा नं. १ को लागि नेहा कृषि सहकारी संस्थाबाट १२६ बोरा युरिया विक्री वितरण गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले जानकारी दिए । यस्तै, वडा नं. २ को लागि महिला साना किसान कृषि सहकारी संस्थामार्फत १२६ बोरा, वडा नं. ३ को लागि शुभ लाभ बचत सहकारी संस्था १२६ बोरा र वडा नं. ४ को लागि जानकी कृषि सहकारी संस्थामार्फत १२६ बोरा युरिया मल विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं. ५ को लागि डिहवार बाबा ऋण तथा बचत सहकारीमार्फत १२५ बोरा, वडा नं. ६ को लागि प्रगति बचत तथा ऋण सहकारी संस्थामार्फत १२५ बोरा र वडा नं. ७ को लागि लक्ष्मीनियाँ माई कृषि सहकारी संस्थामार्फत १२६ बोरा युरिया मल विक्री वितरण गर्न लागिएको छ ।
किसानको आवश्यकतालाई ध्यानमा राख्दै सम्बन्धित सहकारीमार्फत मल वितरणको व्यवस्था मिलाइएको गाउँपालिकाको भनाइ छ। यस व्यवस्थाले किसानलाई मल प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले तोकिएको कोटाअनुसार मल वितरण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित सहकारी संस्थाहरूलाई आग्रह गरेको छ। साथै, मल वितरणको विवरण तथा आवश्यक बिल–भरपाई गाउँपालिकाको कृषि शाखामा पेस गर्नसमेत निर्देशन दिइएको छ।
गाउँपालिकाले मल वितरण प्रक्रियालाई व्यवस्थित बनाउन र किसानसम्म मल पुर्याउने कार्यमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।


