 
                                                                    काठमाडौँ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गरेका छन् । दुवैले आफूलाई प्रमुख प्रशासकीय अधिकृत रहेको दाबी गर्न थालेपछि जनप्रतिनिधिसहित स्थानीयवासीमा अन्योल देखिएको छ ।
हालै दुई दिनअघि जितिया पर्वको विषयलाई लिएर उनीहरुले छुट्टाछुट्टै सूचना जारी गरे । जसले आमनागरिकदेखि सेवाग्राही अन्योलमा परे ।
आफूलाई लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दाबी गर्दै सर्वजीतकुमार झा र यमबहादुर उपरकोटीले जितिया पर्वको विषयलाई लिएर छुट्टाछुट्टै प्रकृति छुट्टाछुट्टै सूचना जारी गरे ।
यही असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा झाले असोज ७ मा सार्वजनिक बिदा दिएको सूचना जारी गरे ।
हेर्नुहोस् झाले जारी गरेको सूचना

झाले सूचना जारी गरेको भोलिपल्ट असोज ८ गते बिहान सार्वजनिक बिदा नदिइएको सूचना उपरकोटीले निकाले । 
हेर्नुहोस् उपरकोटीले जारी गरेको सूचना

यी दुई छुट्टाछुट्टै प्रकृतिका लेटरप्याडमा प्रकाशित सूचनाले जनप्रतिनिधि र स्थानीयवासीमा अन्योलता छायोे । सार्वजनिक बिदा हो या होइन भन्दाभन्दै दिन बित्यो । तर, यी दुईमध्ये कसको सूचना कानुनी वैधता प्राप्त हो, कसैले छुट्याउन सकेनन् । 
गएको वैशाख ३० गते उपरकोटीले लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिरी गरे । उनले काम गरिरहेकै अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवापत्र बोकेर झा आइपुगे । गएको १३ भदौमा झाले वडाध्यक्षहरुको रोहवरमा हाजिरी गरे ।
यसपछि दुवैले आफूलाई आधिकारिक प्रशासकीय अधिकृत दाबी गर्न थालेपछि दैनिक प्रशासनिक सेवा र विकास निर्माणका काममा समेत प्रभाव पर्न थालेको छ । चालु आर्थिक वर्षको गाउँसभासमेत बस्न सकेको छैन । तर, यसको समाधानका लागि न जनप्रतिनिधिले चासो देखाएका छन् न त संघीय सरकारले नै ।
यता संघीय मामिला समान्य प्रशासन मन्त्रालयले उपरकोटीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको सार्वजनिक चर्चामा रहे पनि उनले यसबारे आफूलाई जानकारी नरहेको बताउँदै आएका छन् ।
भदौमै सरुवा भएको भनिएका प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले आफ्नो सरुवाबारे औपचारिक जानकारी नआएको भन्दै लक्ष्मीनियाँ गाउँपालिका छाडेका छैनन् ।
दुई प्रशासकीय अधिकृतको टकरावका कारण दैनिक प्रशासनिक कार्यसहितका काममा अड्चन आएपछि लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र झाले यो अवस्थाको सृजना हुनुमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको कमजोरी रहेको बताउने गरेका छन् । प्रशासकीय अधिकृत हुँदा हुँदै सरुवा नै नगरी अर्काे पठाएर मन्त्रालयले गल्ती गरेको उनले भन्ने गरेका छन् ।
संघीय मामिला मन्त्रालयले लक्ष्मीनियाँमात्र होइन मधेश प्रदेशकै जीतपुरसिमरा उपहानगरपालिकामा पनि तीनजना प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । जसको विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा छ ।  
 

 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    