काठमाडौँ । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाले नयाँ घर बनाउने कार्यलाई आश्यकताको आधारमा व्यवहार गर्ने नीति लिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा घर बनाउँदा हुने लगानीप्रति चासो राख्दै नागरिको पुँजी अनुत्पादक कार्यमा खर्च नहोस भनेर निःशुल्क परामर्श दिने भएको हो ।
घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस र पुँजी चलायमान होस भन्ने उदेश्यले घर निर्माणपूर्व उनीहरुलाई घरको आवश्यकता, लागत, मापदण्ड र उपयोगका सम्बन्धमा निःशुल्क परामर्श दिन लागिएको गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
‘घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस र पुँजी चलायमान होस् भन्ने उदेश्यले घर निर्माण गर्नुपूर्व नागरिकलाई घरको आवश्यकता, घरको लागत, मापदण्ड र उपयोगका सम्बन्धमा निःशुल्क परामर्श दिइनेछ,’ आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा उल्लेख छ ।
गाउँपालिकाले असार ३ गते नै आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बजेट र नीति तथा कार्यक्रम गाउँपालिकाको १५औं गाउँसभामा पेश गरेका हुन् ।





