काठमाडौँ । नेपाल राष्ट्र बैंक व्यवस्थापले एकैपटक ठूलो संख्यामा कार्यकारी निर्देशकको सरुवा गरेको छ । राष्ट्र बैंकले एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना समेट्ने र देशको वर्तमान विषम परिस्थितिको सामना गर्न राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग परिवर्तन गरेको जानकारी दिएको छ ।
राष्ट्र बैंक व्यवस्थापनले कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरेको छ । यसअघि उनी विदेशी विनिमय व्यवस्थापन विभागमा थिए ।

कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरिएको छ । यस्तै, कार्यकारी निर्देशक विश्रुत थापालाई मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभाग सरुवा गरिएको छ । कार्यकारी निर्देशक दयाराम शर्मालाई मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालय सरुवा गरिएको छ । 
कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभाग सरुवा गरिएको छ । यस्तै, कार्यकारी निर्देशक किरण पण्डितलाई भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभाग सरुवा गरिएको छ ।
राष्ट्र बैंक व्यवस्थापनले कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभाग सरुवा गरेको छ भने कार्यकारी निर्देशक रोशन कुमार सिग्देललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभाग सरुवा गरिएको छ । कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेललाई बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभाग सरुवा गरिएको छ । कार्यकारी निर्देशक अनुज दाहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभाग सरुवा गरिएको छ । कार्यकारी निर्देशकमा हालै बढुवा भएका राजनविक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ । यसअघि थापा गभर्नरको कार्यालयमा थिए ।






                                        
                                        
                                        
                    
                    