Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने 

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ माओवादी केन्द्रबाट हालै बाहिरिएका नेता जनार्दन शर्माले गठन गर्ने नयाँ दलमा सहभागी हुने भएका छन् ।

शर्मा उर्जा मन्त्री बनेको समयमा घिसिङलाई पहिलो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो ।

मन्त्री घिसिङ शर्माको नयाँ दलमा सहभागी हुने तय भएपनि कुन पदमा सहभागी हुने भन्ने तय भएको छैन । स्रोतका अनुसार शर्मासँगको सल्लाहमा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा सहभागी भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विग्रिएपछि शर्मा नयाँ दल खोल्ने वा के गर्ने भन्ने खोजीमा थिए । यस्तैमा प्रचण्डले माधव नेपालको पार्टी नेकपा समाजवादीसँग एकता गर्ने भएपछि सोही मौकालाई सदुपयोग गर्दै नयाँ दल बनाउने तयारी शर्माले थालेका थिए ।

शर्माले आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्र छोडेर प्रगतिशील अभियान नेपाल सुरु गरेका छन् । उनको सो अभियानमा माओवादी केन्द्रका नेता राम कार्की र अन्जना विशंखे पनि रहने छन् ।

शर्माले अभियान भनेर अहिले सुरु गरेपनि उनले नयाँ दल नै बनाउने गृहकार्य थालेको स्रोतले बतायो । नयाँ दलमा विभिन्न कम्युनिष्ट पार्टीका नेता, समुह र सामाजिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुलाई पनि भित्र्याउने योजना शर्माले बनाएका छन् ।

शर्माले बनाउने नयाँ पार्टीमा घिसिङलाई दोस्रो वरियताको नेता बनाउन लागिएको स्रोतको दाबी छ ।

‘कुलमानजी राजनीतिक उचाइ प्राप्त गरेको व्यक्ति होइन । यसैकारण उनलाई पार्टीको दोस्रो वरियताको नेता बनाउँदा राजनीति गरेर आएका व्यक्तिहरुले स्वीकार नगर्ने अवस्था थियो । यही अवस्थालाई अनुकल बनाउन कुलमानजीलाई रास्वपासँग छलफलमा पठाइएको हो । रास्वपाले उपाध्यक्ष दिन्छु भनिसकेकोले अब कुलमानजीलाई दोस्रो बरियताको नेता बनाउन समस्या नहुने भयो,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update