
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरीहरुका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम सञ्चालन गरेको छ ।
काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवानलाई प्रदान गरिएको तालिम राष्ट्रिय सभा गृहमा औपचारिक समारोहसहित समापन गरिएको हो ।
२०८१ फागुन १८ गतेदेखि सुरु भएको तालिम ३ समूहमा सञ्चालन गरिएको थियो । हरेक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।
तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने बताए । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछि सवारी चालक, सवारी यात्रु र पैदल यात्रुले सहजता महसुस गर्नुहुनेछ’ घिमिरेले भने, ‘यसबाट तालिमको नतिजा पुष्टि हुन्छ ।’
त्यस क्रममा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षता बढाउँदै लगिएको बताए । ‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ,’ पाण्डेले भने ।
तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक विषयसँग सम्बन्धित थिए । यस्तै वाह्य कक्षाहरु प्रयोगात्मक, शारीरिक व्यायाम, प्राथमिक कवाज, टोली कवाज, ट्राफिक सिग्नल कवाजलगायत सिप सिकाइएको तालिमका संयोजक प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले तालिम प्रतिवेदनमार्फत जानकारी दिए ।
सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिएको छ । सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिएको थियो ।
नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि आधारभूत तालिम, विपद व्यवस्थापन तालिम, ट्राफिक व्यवस्थापन तालिमसहितका क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सहरी व्यवस्थापनका कामसँगै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा गर्ने दायित्व नगर प्रहरी बलले निर्वाह गरिरहेको छ ।
महानगर प्रहरी बल संविधान जारी हुनुअघिदेखि नै अर्थात् २०५० साल भदौ १४ गते नगर प्रहरी सेवाका रुपमा स्थापना भएको संरचना हो । नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी ग¥यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।
महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।