
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा जम्मा ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
प्रदेश सरकारले साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए ।
१० महिनामा प्रदेश सरकारले पुँजीगततर्फ १३ अर्ब २ करोड ७३ लाख ४७ हजार र चालुतर्फ १२ अर्ब ८ करोड ७३ लाख ९५ हजार रुपैयाँ गरी जम्मा २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आव का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत, प्रदेशसभा सचिवालयले ४९ दशमलव ५२ प्रतिशत खर्च गरेको छ ।
सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४८ प्रतिशत खर्च गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका धेरैजसो योजना बल्ल कार्यान्वयनमा जान थालेकाले अब विस्तारै पुँजीगत खर्च बढ्दै जाने बताइएको छ ।
यस्तै बागमती प्रदेश सरकारले बाँडफाँटबाट विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्व तथा दस्तुरमा पनि कमी आएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १५ अर्ब एक ५७ करोड ५६ लाख प्राप्त हुने अनुमान गरिएकामा १० महिनामा ८ अर्ब ४७ करोड १७ लाख ३० हजारमात्र प्राप्त भएको सूचना अधिकारी सञ्ज्यालले बताए ।