Odapalika - The Fourth Estate - चौथो अंग
कोहलपुर नगरपालिकाका किसानलाई अनुदानको कृषि सामग्री

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ । 

चालु आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटबाट १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गीता सुवेदीले सामग्री वितरण गरेका छन् ।

साना सिँचाइ प्रवद्र्धन कार्यक्रमअन्तर्गत ८० थान पम्पसेट वितरण गरिएको कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनीटिलरको बजारमूल्य १९ हजार रुपैयाँ छ भने पम्पसेटको बजार मूल्य  ९ हजार रुपैयाँ हाराहारी छ । 

नगरप्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएकोे किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताए ।  

उपप्रमुख सुवेदीले किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको र मागमा आधारित योजना कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् ।

नगरपालिकाले च्याउको बीउ, खाद्यान्न बाली, साना सिँचाइको संरचना निर्माणलगायतमा समेत किसानलाई सहयोग गर्दै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update