
काठमाडौँँ । बाँकेको कोहलपुर नगरपालिकाका भूमिहीन कृषकले जग्गाको लालपुर्ज पाएका छन् । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।
४४ वर्षदेखि भूमिहीन अवस्थाका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलोपटक धेरै खुसी लागेको बताए ।
कोहलपुर नगरपालिका–१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे । पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताउए ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिका–१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताए ।
वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलोपटक यहाँ लालपुर्जा वितरण गरिएको हो । समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो । प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ ।
अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए ।