
काठमाडौँ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले वार्षिक औसत ४ करोड रुपैयाँको दरले बेरुजु बढाउने गरेको देखिएको छ ।
गाउँपालिकाले विगत ६ वर्षमा २४ करोड रुपैयाँ बेरुजु बनाएको छ । गत आर्थिक वर्षको मात्रै चम्पादेवी गाउँपालिकाको बेरुजु ४ करोड रुपैयाँको हाराहारीमा छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार चम्पादेवी गाउँपालिकाको गत आर्थिक वर्षसम्ममा २४ करोड ४० लाख रुपैयाँ बेरुजु छ । गत आर्थिक वर्ष मात्रै ४ करोड ८३ लाख रुपैयाँ बेरुजु थपिएको हो । सोभन्दा अघिल्लो वर्षसम्मको बेरुजु १९ करोड १७ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षको ४ करोड ८३ लाख रुपैयाँ बेरुजुमध्ये २ करोड २६ लाख रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ । असुल गर्नुपर्ने बेरुजु भनेको कानुन अनुसार भुक्तानी गर्न नमिल्ने तर गरिएको कारण भुक्तानी पाउनेले सरकारलाई फिर्ता गर्नुपर्ने रकम हो । यस्तै ८१ लाख १२ हाजर रुपैयाँ भने अनियमित ढंगले भुक्तानी गरिएको छ । महालेखाका अनुसार चम्पादेवी गाउँपालिकाले १ करोड ७६ लाख रुपैयाँ भने प्रमाण कागज पेश नगर्नेलाई भुक्तानी दिएको छ ।
सो गाउँपालिकाको अध्यक्ष नवराज केसी छन् । उनी यसअघिको कार्यकालमा पनि अध्यक्ष निर्वाचित थिए । केसी दोस्रो कार्यकालको लागि अध्यक्ष बनेको पनि २ वर्ष पुगिसकेको छ । उनले सो गाउँपालिका गठन भएदेखि नै नेतृत्व गरिरहेका छन् । उनले अध्यक्षको रुपमा अहिलेसम्म ६ वर्ष निरन्तर जिम्मेवारी पाइरहेका छन् । यो ६ वर्षको अवधीमा चम्पादेवी गाउँपालिकाको बेरुजु रकम २४ करोड रुपैयाँ पुगेको छ ।
संवैधानिक व्यवस्था अनुसार २०८४ सालमा स्थानीय तहको निर्वाचन हुन्छ । तर, स्थानीय तहमा २ कार्यकालभन्दा बढी समय निर्वाचित हुन नपाइने व्यवस्था छ । सोही कारण चम्पादेवीका अहिलेका अध्यक्ष नवराज केसी २०८४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार हुन पाउने छैनन् । तर, सो समयसम्ममा गाउँपालिकाको बेरुजु कति पुग्ला भन्ने हिसाव भने सुरु भइसकेको छ ।