
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । महानगरले चालु आर्थिक वर्षको भन्दा करिब १ अर्ब रुपैयाँले आकार घटाएर आगामी आर्थिक वर्षको लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको हो ।
महानगरले गत आर्थिक वर्षमा ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको ल्याएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरिएको थियो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७औँ नगरसभामा बजेट प्रस्तुत गरे । खर्चको स्रोतमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तो अनुमानमध्ये घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत छ ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।
महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ ।
महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष २०८१०/८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ ।
यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।
महानगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडानका लागि ४ करोड, कृषि तथा पशु विकासका लागि ९ करोड, शिक्षा विकासतर्फ १० करोड ५० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, स्वास्थ्य सेवामा ३ करोड २५ लाख, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, महानगरपालिकाको प्रशासनिक भवन निर्माण तथा इन्टेरियर कामका लागि ४ करोड बजेट विनियोजन गरेको छ ।