काठमाडौँ । सरकारले फागुन २१ का लागि तोकेको प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न भएमा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आगामी निर्वाचनबाट प्रधानमन्त्री बन्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बनाउन आफू तयार भएको भन्दै सो पार्टीका सभापति रवि लामिछानेले बालेनसँग ७ बुदे सम्झौता नै गरेका छन् ।
फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन भएमा मेयर बालेनले प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समयसम्ममा मेयर पदबाट राजीनामा गरिसक्नु पर्नेछ । निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
मेयर बालेन आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्नेको लागि प्रत्यक्षतर्फ उम्मेदवार बनि निर्वाचित हुनुपर्नेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनले माघ ५ गतेसम्म मेयर पदबाट राजीनामा गरिसक्नु पर्नेछ । मेयर पदबाट राजीनामा नगरी प्रतिनिधिसभाको उम्मेदवार हुन पाइदैन ।
यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि श्रम सस्कृति पार्टी स्थापना गरी आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रयासमा छन् । उनले पनि मेयर बालेनको जस्तै गरी ढिलामा माघ ५ गतेसम्ममा मेयर पदबाट राजीनाम गरिसक्नु पर्नेछ ।
मेयरहरु बालेन र हर्क साम्पाङले २०८३ को बैशाख ३० गतेअघि राजीनामा गरेर उनीहरु विजयी भएका स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३(२) मा गरिएको व्यवस्थाका कारण मेयर बालेन र हर्क साम्पाङले राजीनामा गरेमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । उपनिर्वाचनबाट निर्वाचित हुन आउने मेयर कार्यकाल बाँकी अवधिको लागि मात्रै हुनेछ ।

‘जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पदमा उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ । तर, एक वर्षभन्दा कम अवधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गरिने छैन,’ ऐनको सो दफामा उल्लेख गरिएको छ ।
स्थानीय तहको गत निर्वाचन २०७९ साल बैशाख ३० गते भएको थियो ।
नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
यस्तै, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने चाहना व्यक्त गरेकी छन् । उनी भरतपुर महानगरको मेयरको रुपमा दोस्रो कार्यकालमा छिन् । कानुन अनुसार उनी अब सो महानगरको मेयरको उम्मेदवार बन्न पाउदिनन् । सोही कारण पनि उनको ध्यान प्रतिनिधिसभा निर्वाचनतिर मोडिएको बतान्छ । मेयर दाहाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।






