Odapalika - The Fourth Estate - चौथो अंग
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट 

काठमाडौँ । भरतपुर महानगरपालिकाको नगरसभाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । आइतबारदेखिसुरु भएको नगर सभाले सोमबार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेको हो । 

१७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन समिति, सुशासन समिति, न्यायिक समिति तथा लेखा समितिको प्रतिवेदन र राजस्व र व्ययको अनुमान (बजेट), आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ पारित गरेको छ ।

समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले दाहालले अब दुई वर्षभित्र महानगरमा धेरै आयोजनाहरु सम्पन्न भइसक्ने र सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताइन् । 

भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड (१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ हुने प्रक्षेपण छ ।

महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ । महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७०७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४९२ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update