
काठमाडौँ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीका विभिन्न सथनीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट ल्याइरहेका छन् । पोखरा महानगरपालिकासहित केही स्थानीय सरकारले बजेट ल्याएका छन् भने मादी गाउँपालिकामा भने विवादका कारण बजेट आउन सकेको छैन ।
सोमबार सुरु भएको १७औँ गाउँसभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेपछि काँग्रेस र नेकपा एमालेबाट निर्वाचित सभा सदस्यहरुबीचको विवादका कारण सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
अध्यक्ष गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्य पार्वती रानाले उपाध्यक्ष कल्पना गुरुङका कारणले समयमै गाउँसभा बैठक सुरु नभएको लगायतको आरोप लगाएपछि एमालेका सभा सदस्यहरु माधव सापकोटा र दीपक क्षेत्रले नियमापत्ति गरे ।
रानाले बोलेको विषय गाउँसभाको रेकर्डबाट हटाउनुपर्ने माग एमालेले गरेपछि रानाले बोलेका विषय फिर्ता लिने र गाउँसभा सुरु गर्ने सहमति भएर रानाले फिर्र्ता लिए पनि एमालेका सभा सदस्यहरुले सभा सुरु गर्न तयार नभएपछि अनिश्चित कालका लागि स्थगित भएको हो ।
पोखरा महानगरको बजेट ८ अर्ब ३५ करोड
पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड माथिको बजेट पेश गरेर पारितका लागि छलफल गरिरहेको छ ।
विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने लक्ष्य बजेटले राखेको बताइएको छ ।
८ अर्ब ३५ करोड १२ लाख रुपैयाँबो बजेट छ भने संघीय सरकारको अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड रुपैयाँ व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
बजेटमा पूर्वाधारतर्फ २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । स्वास्थ्य सेवामा ३१ करोड २ लाख रुपैयाँ, शिक्षातर्फ १ अर्ब ७३ करोड ३३ लाख ५१ हजार रुपैयाँ छुट्टाइएको छ ।
रुपाको बजेट ४८ करोड
रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आगामी वर्षका लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका छन् ।
चालु खर्चका लागि ३३ करोड ३४ लाख ४८ हजार र पूँजीगत तर्फ १५ करोड २० लाख ५७ हजार खर्च हुने अनुमान गरिएको छ । बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ६५ लाख, राजश्व बाँडफाँड तर्फ करोड ३२ लाख, नेपाल सरकार ससर्त अनुदान तर्फ १८ करोड ७२ लाख रुपैयाँ अनुमान गरिएको छ ।
समपुरक अनुदान तर्फ ५ करोड ७७ लाख, नेपाल सरकार विशेष अनुदान रकम १ करोड ६५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँडबाट ७८ लाख ३७ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदानबाट ६० लाख रुपैयाँ आम्दानी हुने बजेटमा उल्लेख छ ।
बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ ९३ लाख ४१ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम ४० लाख, प्राप्त हने अनुमान छ ।
कास्कीका अन्य स्थानीय सरकारहरुले भने आज गाउँ र नगरसभामा धमाधम बजेट पेश गरिरहेका छन् । उपप्रमुख र उपाध्यक्षहरुले बजेट बाचन थालेको सम्वन्धीत स्थानीय तहहरुले जनाएका छन् ।