
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।
उपमेयर सावित्रादेवी अर्यालले नगरसभामा बजेट प्रस्तुत गर्दै चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने सुनाइन् । उनले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड रुपैयाँ आय हुने अनुमान बैठकमा पेश गरेकी छन् ।
शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको बजेटमा बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने नारासहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गरिएको छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६) लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।
तिलोत्तमाले ल्यायो ३ अर्बको बजेट
तिलोत्तमा नगरपालिका उपप्रमुख जलेश्वरदेवी चौधरीले २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छन् ।
यो चालु आर्थिक वर्षको भन्दा १६ करोड ३१ लाख ४९ हजारले ५८२ रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँ थियो ।
बजेटमा चालुतर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पुँजीगततर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५८२ रुपैयाँ हुने अनुमान गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५८२ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको छ ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार प्राथमिकतामा राखेको छ । शिक्षामा सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार तथा शिक्षण सिकाइ उपलब्धिको लागि शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरिउको छ ।
मालिकाको बजेट ४६ करोड
म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरकेो छ । उपाध्यक्ष लक्ष्मीदेबी घर्तीले सोमवार नै बजेट पेश गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रम पारित भएपछि ल्याइएको बजेटमा चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड ७ लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारको समानिकरण अनुदान ८ करोड ८३ लाख, सशर्त अनुदान २० करोड ६३ लाख, राजस्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार, सशर्त (पुँजीगत) अनुदान ६ लाख, विशेष (पुँजीगत) अनुदान ८० लाख, समपुरक अनुदान १करोड १० लाख छ ।
गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपुरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय (सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम २ करोड गरी कुल ४६ करोड २ लाख ३ हजार रुपैयाँको अनुमानित पेश भएको हो ।