Odapalika - The Fourth Estate - चौथो अंग
रसुवा बाढीले क्षति पुगेका जलविद्युत संरचना तत्काल बनाउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पानले असार २४ गते चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी)मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याउनुकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

इप्पानले एक विज्ञप्ति जारी गरी बाढीले १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याउनुका साथै नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमासमेत ठूलो क्षति पुर्‍याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको इप्पानको भनाइ छ ।

इप्पानले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको जानकारी दिएको छ । यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको जनाएको छ ।

देवीघाट, त्रिशूली र त्रिशूली ३ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।

निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्‍याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने उत्पादकको भनाइ छ ।

टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौं गाडीहरुसमेत बाढीले बगाएको, निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल–चिन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरुमा पारेको प्रभावप्रति पनि गहिरो दुख व्यक्त गर्दछौं । नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो नाका सुचारु हुने वातावरण बनाउन पनि सरकारसँग इप्पानको आग्रह छ ।

बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जना नागरिकको उद्धार भएको थियो । यो कार्यका लागि इप्पानले सरकारलाई धन्यवाद दिएको छ । साथै इप्पानले क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि नेपाल सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update