Odapalika - The Fourth Estate - चौथो अंग
एक जनाको ज्यान गएपछि बल्ल छाउगोठ भत्काउन जुट्यो कुष्णपुर नगरपालिका

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालिकाभित्र रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै पािलकाले सबै सबै वडा कार्यालयलाई पत्र लेखेर १५ दिनभित्र गोठ हटाइसक्न निर्देशन दिएको हो । 

वडावडामा अझै छाउपडी प्रथा कायम रहेको भन्दै यसको अन्त्यका लागि गोठ भत्काउन निर्देशन दिए पनि छाउगोठ बस्नेहरुमा सामाजिक सचेतनाका लागिभ ने नगरपालिकाले ठोस कार्यक्रम अझै ल्याउन सकेको छैन । 

छाउपडी गोठ नभत्काउने व्यक्तिलाई कानुनी कारवाहीसहित १० हजार रुपैयाँ जरीमाना गरिने नगरपालिकाले जनाएको छ । दुई दिन अघि वडा नं १ निगालीमा छाउगोठमा बस्ने क्रममा सर्पदंशका कारण २८ वर्षीया कमला दमाईको मृत्यु भएको थियो । छाउगोठमा दमाईको मृत्यु भएपछि नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन जारी गरेको हो ।

मेयर हेमराज ओझाले २१औँ शताब्दीमा छाउपडी प्रथा रहनु सभ्य सामाज निर्माणका लागि बाधक भन्दै सामाजिक कलंकका रूपमा रहेको छाउपडी प्रथा निर्मूल पार्न जस्तोसुकै कठोर कदम चाल्न नगरपालिका तयार रहेको बताए । 

ओझाका अनुसार छाउगोठ रहेको वडामा आजैबाट नगरपालिकाबाट पत्रसहित टोली खटाइएको छ  । टोलीले घरघरमा पुगेर निरीक्षण गरी छाउगोठ भत्काउन लगाउने छ ।

त्यो सँगसँगै छाउगोठ निरीक्षणका लागि खटिने टोलीले छाउपडी प्रथा विरुद्ध सचेतना फैलाउने बताइएको छ । यसअघि नगरपालिकाले वडा नं १ कुमगडा क्षेत्रमा चार वटा छाउगोठ भत्काएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update