Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड व्याज

काठमाडौँ । सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षमा योगदानकर्तालाई करिब ३ अर्ब रुपैयाँ व्याज वितरण गरेको छ ।

कोषका योगदानकर्ताको नाममा जम्मा भएको योगदान रकमको व्याज प्रदान गरिएको हो । कोषले गत आर्थिक वर्षको चैत ४ गतेसम्म ५.५ प्रतिशत र सोपछि ५ प्रतिशतका दरमा योगदानकर्तालाई व्याज प्रदान गरेको थियो ।

कोषका सुचना अधिकारी डा. रोशन कोजुले दिएको जानकारी अनुसार कोषमा हालसम्म २३ लाख ७९ हजार ५ सय ८५  जना योगदानकर्ता छन् । यी योगदानकर्ताले जम्मा गरेको बृद्ध अवस्था सुरक्षा योजनाको रकमबाट कोषले योगदानकर्तालाई व्याज दिएको हो ।

‘कोषमा जम्मा गरिएकोमध्ये बृद्ध अवस्था सुरक्षा योजनामा कोषले व्याज प्रदान गर्छ । यही व्यवस्था अनुसार कोषमा आवद्ध २३ लाख ७९ हजार योगदानकर्तालाई कोषले २ अर्ब ८४ करोड रुपैयाँ व्याज वितरण गरेको छ,’ सुचना अधिकारी डा. कोजुले भने ।

२०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन जारी भएपछि सामाजिक सुरक्षा कोषको स्थापना भएको हो । कोष स्थापना भएपछि २०७६ साल साउन १ गतेदेखि योगदान रकम संकलन सुरु भएको छ ।

योगदानमा आधारित समाजिक सुरक्षा ऐनका प्रावधान अनुसार श्रम ऐन लाग्ने क्षेत्रका रोजगारदाता र श्रमिक अनिवार्य रुपमा कोषमा आवद्ध हुनुपर्छ । कोषमा आवद्ध भएपछि रोजगारदाताले आफ्नो आधारभूत पारिश्रमिकको २० प्रतिशत र योगदानकर्ता (श्रमिक) ले आफ्नो आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम अनिवार्य रुपमा कोषमा जम्मा गर्नुपर्छ ।

यसरी जम्मा भएको रकममध्ये १.२ प्रतिशत औषधी उपचार र मातृत्व योजनामा, ०.८ प्रतिशत दुर्घटना तथा अशक्तता योजनामा, ०.६७ प्रतिशत आश्रित परिवार सुरक्षा योजनामा, ८.३३ प्रतिशत अवकाश योजनामा र २० प्रतिशत रकम निवृत्तिभरण योजनामा जम्मा हुन्छ । अहिले कोषले व्याज दिएको अवकाश योजना र निबृत्तिभरण योजनामा जम्मा भएको रकमबाट हो । यी दुइटा योजनालाई कोषले बृद्ध अवस्था सुरक्षा योजना भन्ने गरेको छ ।

कोषका सुचना अधिकारी डा. कोजुले योगदानकर्तालाई प्रदान गरिएको व्याज रकम योगदानकर्ताको बृद्ध अवस्था सुरक्षा योजनामा नै जम्मा हुने बताए । कोषको मोबाइल एप प्रयोगकर्ताले मोबाइल एपबाट र ल्यापटप वा कम्युटर प्रयोगकर्ताले कोषमा जम्मा भएको आफ्नो रकमको स्टेटमेन्टमा व्याज वापत प्राप्त भएको रकम देख्न सक्ने उनले जानकारी दिए ।

कोषमा अहिलेसम्म २० हजार ९७२ रोजगारदाता सुचिकृत भइसकेका छन् भने २३ लाख ७९ हजार ५८५ जना योगदानकर्ता (श्रमिक) कोषमा आवद्ध भइसकेका छन् । योगदानकर्ताको ८३ अर्ब ८६ करोड रुपैयाँ कोषमा जम्मा भइसकेको छ । तर, कोषले यो रकममध्ये बृद्ध अवस्था सुरक्षा योजना (अवकाश योजनाको ८.३३ प्रतिशत र निबृत्तिभरण योजनाको २० प्रतिशत गरी २८.३३ प्रतिशत रकम) को व्याज प्रदान गरिएको हो ।

यसरी जम्मा भएको रकममध्ये कोषले १५ अर्ब ७५ करोड रुपैयाँ योगदानकर्तालाई दाबी भुक्तानी पनि गरेको छ । यसरी गरेको दाबी भुक्तानीमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबीमा २ अर्ब १४ करोड,  दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको दाबीमा २० करोड ६२ लाख, आश्रित परिवार सुरक्षा योजनाको दाबीमा २६ करोड र अवकाश योजनाको दाबीमा १३ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कोषमा औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार, वैदेशिक रोजगारीमा गएका, निजामती, सेना, प्रहरी र शिक्षकबाहेकका सरकारी कर्मचारीहरु पनि आवद्ध हुनुपर्ने वाध्यकारी व्यवस्था छ । यस्तै, स्थानीय तह र प्रदेशस्तरका सरकारी कार्यालय, संस्थान, निकाय र संघ संस्थामा कार्यरत सरकारी कर्मचारी पनि अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्छ ।

सरकारले पछिल्लो समय योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनलाई प्रभावकारी, बलियो र वाध्यकारी बनाउदै लग्ने संकेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update