Odapalika - The Fourth Estate - चौथो अंग
अब सामाजिक सुरक्षा कोषमा सुचिकरण नहुने रोजगारदाताको बैंक खाता र पासपोर्ट रोक्का हुने

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकरण नहुने रोजगारदाताको बैंक खाता र पासपोर्ट रोक्का हुने भएको छ ।

संसदबाट हालै पारित भएको केही नेपाल ऐन संशोधन गर्ने ऐन मार्फत योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । यसअघि कोषमा सुचिकरण भएका तर समयमा पैसा नबुझाउने रोजगारदाताको हकमा मात्रै यस्तो व्यवस्था थियो । सुचिकरण नै नहुने रोजगारदातालाई के गर्ने भन्ने व्यवस्था ऐनमा थिएन ।

सो ऐनको दफा ९ (४) मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । सो दफामा ‘यस ऐन बमोजिम योगदान रकम नबुझाउने सुचिकृत रोजगारदातालाई त्यस्तो योगदान रकम नबुझाएसम्म देहायको कुनै वा सबै कारवाही गर्न कार्यकारी निर्देशकले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ’ भन्ने व्यवस्था थियो । नयाँ व्यवस्थामा ‘यस ऐन बमोजिम कोषमा सुचिकरण नगर्ने, नगराउने वा योगदान रकम रकम नबुझाउने सुचिकृत रोजगारदातालाई त्यस्तो योगदान रकम नबुझाएसम्म देहायको कुनै वा सबै कारवाही गर्न कार्यकारी निर्देशकले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ’ भन्ने छ ।

नयाँ व्यवस्था अनुसार कोषमा सुचिकरण नहुने रोजगारदाताले ५ मध्ये कुनै एक वा सबै प्रकारको कारवाही भोग्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार सुचिकरण नहुने वा समयमै रकम नबुझाउने रोजगारदाताको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख्न, सम्बन्धित व्यक्ति वा संस्थाको चल अचल सम्पत्ति रोक्का राख्न, प्रचलित कानुन बमोमिज पाउने छुट सहुलियत निलम्बन गर्न वा रोक्का राख्न, संम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको अनुमतिपत्र वा इजाजतपत्र निलम्बन गर्न र सम्बन्धित व्यक्तिको राहदानी रोक्का राख्न कोषका कार्यकारी निर्देशकले लेखी पठाउन सक्ने कानुनी आधार तयार भएको हो । यसअघि यस्तो कारवाही कोषमा सुचिकरण भएका तर समयमै रकम नबुझाउनेको हकमा मात्रै सिमित थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update