काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घर तथा घडेरी खरिद गर्न पनि ऋण दिने भएको छ ।
यसअघि घर बनाउनको लागि मात्रै ऋण दिदै आएको कोषले अबभने घर बनाउन, घर खरिद गर्न तथा घडेरी किन्न पनि ऋण दिने भएको हो । कोषले यसअघि ७५ लाख रुपैयाँसम्म ऋण दिदै आएकोमा अबभने १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
योगदानकर्ताको संख्या बढ्दै गएको, कोषमा रकम जम्मा भइरहेको र योगदानकर्ताको मागका आधारमा कोषले लगानीको क्षेत्र बढाउन नयाँ व्यवस्था गरेको कोषका सुचना अधिकारी डा. रोशन कोजुले जानकारी दिए ।
कोषबाट ऋण लिनको लागि नियमित योगदान गर्न थालेको कम्तिमा १८ महिना पूरा भएको हुनुपर्छ भने अनिवार्य अवकाश पाउनको लागि कम्तिमा २ वर्ष समय बाँकी रहेको हुनुपर्छ ।
कोषले दिने ऋण रकम लिनको लागि धितोले खामेसम्म वा सम्बन्धित योगदानकर्ताको १५ वर्षंको अनुमातित तलब बराबर वा सेवा अवधि ६० वर्ष पुग्नको लागि बाँकी रहेको अवधि बराबरको तलबमध्ये जुन कम हुन्छ त्यति रकमसम्म ऋण पाइनेछ । श्रीमान् श्रीमती दुबै जना रोजगारीमा रहेको अवस्थामा दम्बत्तीको आम्दानीलाई पनि आधार बनाएर रकम दिन सकिने कोषले जानकारी दिएको छ ।
कोषले दिने ऋण चुक्ता गर्ने समय बढीमा २० वर्षको हुनेछ ।
कोषमा कम्तिमा १२ महिना योगदान गरेका योगदानकर्ताले शैक्षिक सापटी पनि लिन सक्नेछन् । उनीहरुले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययनको लागि सापटी दिन पाउने कोषको भनाइ छ । यस्तो सापटी रकम पनि १५ वर्षभित्रमा तिरिसक्नु पर्नेछ । योगदानकर्ता शैक्षिक सापटीमा स्नातक तहको अध्ययनका लागि ४ वर्ष, स्नातकोत्तर तहको अध्ययनका लागि २ वर्ष र विद्यावारिधि अध्ययनको लागि ३ वर्ष सहुलियत अवधि पनि कोषले दिन सक्नेछ । सहुलियत दिएको समयमा नियमित व्याज नबुझाए पनि सो रकमलाई साँवामा थप गरी बाँकी अवधिको किस्तामा कायम गरिने कोषले जानकारी दियो ।
कोषले वैशाख ४ गतेबाट ऋणकाे सीमा बढाएको हो। हाललाई वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरिएको छ ।
कोषले योगदानकर्ताका लागि घर सापटी, शैक्षिक सापटी,सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण सुविधा दिँदै आएको छ।






