Odapalika - The Fourth Estate - चौथो अंग
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ताले अहिले राजनीतिक बजार तातेको छ ।

डा. कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । उनी वर्तमान सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने कसरतमा छन् ।

नेता कोइरालाले भेट गरेकामध्ये पूर्वराष्ट्रपति भण्डारी र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबीच दूरी बढ्दो क्रममा छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल भने वर्तमान सत्ता गठबन्धन भत्काएरै छोड्ने ध्याउन्नमा छन् ।

डा. कोइरालाको सक्रियता बढिरहेको समयमा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेस सभापति शेरबहादुर देउवालाई झस्काउने खालको अभिव्यक्ति दिए । गत शनिवार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रममा नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेताप्रति पूर्वाग्रही रहेको र वर्तमान सत्ता गठबन्धन तलमाथि हुने वित्तिकै अहिले परराष्ट्रमन्त्री रहेकी कांग्रेस सभापति देउवाकी श्रीमती डा. आरजु राणा देउवा र उनको छोरा जयवीर देउवालाई कुनै वहानमा पक्राउ गर्ने दाबी गरे । 

पुनको यो दाबीको स्वतन्त्र पुष्टी भएको छैन । र, पुनसँग के कस्तो सुचनाको आधारमा यस्तो दाबी गर्नुभयो भनेर कसैले प्रश्न गरेको पनि छैन ।

डा. कोइरालाको सक्रियतले माओवादी हौसिएको देखिन्छ ।

आइतबार दिउसोतिर त अब डा. कोइराला प्रधानमन्त्री बन्ने भन्ने चर्चा भुसको आगो जसरी फैलियो । पूर्वराष्ट्रपति भण्डारीसँग निकट रहेका एमालेका सांसद, डा. कोइराला निकट रहेका कांग्रेस सांसद तथा अहिलेका विपक्षी दलका सांसदसमेत जोडेर नयाँ सरकार बन्न लागेको चर्चाले व्यापकता पायो । तर, यो कार्यले मूर्त रुप लिन असम्भव नभएपछि सहज भने छदैछैन ।

डा. कोइरालाको नेतृत्वमा नयाँ सरकार बन्ने कुरा असाध्यै कठिन कार्य हो । किनभने नेपाली कांग्रेसको विधानमा पार्टी संसदीय दलको नेता मात्रै प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछ । अहिले नेपाली कांग्रेस संसदीय दलको नेता पार्टी सभापति देउवा नै छन्, जसले डा. कोइरालालाई नै भारी मतान्तरले पराजित गरिदिएका थिए ।

डा. कोइरालालाई प्रधानमन्त्री बनाउन एमालेको साथ पाउने माध्यम पूर्वराष्ट्रपति भण्डारी हुन भनिएको छ । तर, भण्डारीको पार्टी सदस्यता नै कायम छ कि छैन भन्ने विवाद छ । उनी अहिले एमालेको कुनै पदमा छैनन्, सांसद होइनन्, पार्टी सदस्यतामै विवाद छ । यद्यपि, भण्डारी एमालेको पूर्वउपाध्यक्ष भने हुन् । तर, एमालेमा पूर्वले भन्दा पनि बहालवालाले बढी भूमिका खेल्ने गरेका नजिर छन् ।

माओवादी केन्द्रले कांग्रेसमा डा. कोइराला र एमालेमा पूर्वराष्ट्रपति भण्डारीको माध्यमबाट सत्ता गठबन्धनलाई धक्का दिने प्रयास गरेको छ । तर, नेपाली कांग्रेसमा डा. कोइराला सत्ता गणितका लागि कमजोर अवस्थामा छन् भने एमालेमा पूर्वराष्ट्रपति भण्डारी झन कमजोर अवस्थामा छिन् । त्यसैकारण डा. कोइराला र पूर्वराष्ट्रपति भण्डारीले चाहदैमा वर्तमान सत्ता गठबन्धन संकटमा पर्ने अवस्था देखिदैन ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update