
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजीनामा दिएर सैनिक सुरक्षा घेरामा रहेका नेकपा एमालेका अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । भक्तपुरको बालकोटमा रहेको उनको निजी निवास पनि जेनजी आन्दोलनमा जलेर ध्वस्त भएपछि ओली सूर्यविनायक नगरपालिकामा पर्ने गुन्डुमा बस्दै आएका छन् ।
‘हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ । युवाहरु हावामा कुद्न हुँदैन,’ उनले भने ।
जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै ओलीले नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गरे ।
‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन,’ ओलीले भने ।