Odapalika - The Fourth Estate - चौथो अंग
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन तात्कालिक प्रथम महिलालाई घुस दिएको आरोप लागेको विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख पक्राउ परेकी छन्।

विविसी नेपाली सेवाले प्रकाशन गरेको समाचार अनुसार हान हाक–जको नेतृत्वमा रहेको सो चर्चमाथि तात्कालिक राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुइटा महँगा शनेल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ। ती सामानको मूल्य ८ करोड वोन (५७,९०० अमेरिकी डलर, ८२ लाख नेपाली रुपैयाँ) पर्छ।

सो चर्चका संस्थापक सन म्यङ मूनकी ८२ वर्षीया पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गर्दै त्यसलाई झुटो भन्दै आएकी छन्। सनको निधन भएपछि यूनिफिकेशन चर्च उनको नेतृत्वमा छ।

उक्त चर्चले सम्बन्धित निकायसँग सहकार्य गर्ने र चर्चमाथिको विश्वास पुनः स्थापना गर्न यसलाई अवसर मानेर आफूले सक्दो प्रयास गर्ने मङ्गलवार जनाएको छ।

उक्त चर्चले चिन्ता उत्पन्न भएकोमा सर्वसाधारण जनतासँग क्षमायाचना पनि गरेको छ।

अभियोग 

सरकारी अभियोजनकर्ताहरूले हानमाथि विभिन्न चार अभियोग लगाउँदै पक्राउपुर्जी जारी हुनुपर्ने माग गरेका थिए। ती अभियोगमा अनुचित सिफारिस, भ्रष्टाचार र व्यावसायिक हिनामिना पनि पर्छन्।

हानले सोमवार अदालतमा आफूलाई राजनीतिबारे रुचि र ज्ञान दुवै नभएको भन्दै ती अभियोगहरूको खण्डन गरिन्। उनको उमेर र बिग्रँदो स्वास्थ्यस्थितिको कुरा उठाउँदै उनका वकिलहरूले उनको पक्राउविरुद्ध आफ्नो तर्क पेस गरे।

हानमाथि सो चर्चका एक पूर्वकर्मचारीसँग मिलेर सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा कन्जर्भेटिभ पार्टीका सांसद क्वन सङ डोङलाई १० करोड वोन दिएको आरोप पनि लागेको छ। त्यो रकम यून राष्ट्रपति बने भने चर्चको एउटा कार्यक्रममा उनलाई सहभागी हुन तयार पार्न दिन खोजिएको बताइएको छ। उक्त निर्वाचनमा यून राष्ट्रपति निर्वाचित भए पनि।

क्वन तात्कालिक राष्ट्रपति यूनका विश्वासपात्र थिए। उनी गत साता बुधवार पक्राउ परे। यद्यपि उनले घुस लिएको आरोप अस्वीकार गरेका छन्।

युनिफिकेसन चर्चले २०७५ साल मंसिरमा नेपालमा पनि भव्य कार्यक्रम गरेको थियो । होटल हायातमा आयोजित सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपाका प्रमुखमध्येका एक नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । 

सो कार्यक्रम त्यही समयमा विवादमा परेको थियो । कार्यक्रममा चर्चकी प्रमुख हानले ‘पवित्र रक्सी’ भन्दै होली वाइन वितरण गरेकी थिइन् । नेपालमा युनिफेकेसन चर्चको प्रमुख व्यक्तिका रुपमा एमाले नेता एकनाथ ढकाललाई चिन्ने गरिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update