Odapalika - The Fourth Estate - चौथो अंग
महाभारत गाउँपालिकाद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकामा रहेका विभिन्न ५० विद्यालयमा ६ हजार ५४ विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ । यस निर्णयसँगै बार्षिक ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निःशुल्क शिक्षा सुरु गरिएको हो । 

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्राथमिक तहका ३२, आधारभुत ९, माध्यमिक ८ र एक प्रावधिक अर्थात् कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालयसहित ५० शैक्षिक संस्था छन् । यस्तै पुर्वप्राथमिक तहमा ७ सय ७८, प्राथमिक तहमा २ हजार ४ सय १५, आधारभुत तहमा १ हजार ४ सय २७, माध्यमिक (९–१०) तहमा ९ सय ८१ र कक्षा ११ र १२ मा ४ सय ५३ जना विद्यार्थी अध्ययन गरिरहेका हुन् ।  गाउँपालिकास्थित श्री भैरव माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । कक्षा ११–१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नु नपर्ने भएको हो । 

गरिव, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्जित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको जिम्माको भनाई छ । “शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमासमेत यस कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिम्माले भने । यसअघि गत जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update