Odapalika - The Fourth Estate - चौथो अंग
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही

धनगढी । ‘नेता भएपछि गाउँमै बस्दैनन्, पदमा पुगेपछि सम्पत्ति मात्रै कमाउँछन्’ भन्ने सामाजिक धारणा मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीले तोडेका छन्। पाँच वर्षे कार्यकाल सकेपछि उनी गाउँमै बसेर कृषि व्यवसायलाई जीवनयापन र आय आर्जनको माध्यम बनाइरहेका छन्।

५५ वर्षीय शाही २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएका थिए। पदावधि सकिएलगत्तै उनले नयाँ ढंगले कृषि व्यवसाय सुरु गरे। उनले चार वर्षअघि धनगढीबाट ६ हजार रुपैयाँको सुपर नेपियर घाँस ल्याएर खेती थालेका थिए। सो घाँसबाट दोस्रो वर्षमै करिब २ लाख रुपैयाँ आम्दानी गरे भने तेस्रो वर्षमा १० लाख रुपैयाँसम्म कमाउन सफल भए। यो वर्ष उनले १५ लाख रुपैयाँको घाँस बिक्री गर्ने लक्ष्य राखेका छन्।

शाही अहिले सुपर नेपियरसहित ९ किसिमका घाँस खेती गरिरहेका छन्। ७० रोपनी पाखो जमिनलाई हरियाली बनाउँदै उनले पशुपालनलाई समेत सघाएका छन्। हाल उनको खोरमा ४० वटा बाख्रा छन् भने इपिल–डाले, किम्बु, राई खनिउ, मेन्दोला जस्ता घाँस बेर्नासमेत उत्पादन गरी गाउँकै किसानलाई आपूर्ति गरिरहेका छन्।

उनले तरकारी खेतीलाई पनि प्राथमिकता दिएका छन्। मटर, काउली, टमाटर, चम्सुर, मेथी लगायतका अर्ग्यानिक तरकारी बारीमा फलाउँदै स्थानीय बजारमै बिक्री गर्छन्। हालै उनले रिठा खेती पनि सुरु गरेका छन्।

शाहीका अनुसार कृषि व्यवसायले व्यक्तिगत आम्दानी मात्र नभई गाउँको बेरोजगारी हटाउन र बसाइसराइ रोक्न महत्वपूर्ण योगदान दिन सक्छ। "कृषि गरे आम्दानी हुन्छ, अर्ग्यानिक खाना खान पाइन्छ, बाँझो जमिन हराभरा हुँदा मनमा छुट्टै आनन्द आउँछ," शाहीले भने।

उनकी बुहारीले बीएससी एजी (कृषि) पढेकी छन्। उनीसँगै सल्लाह लिएर व्यवसायिक कृषिमा थप सुधार गर्ने योजना शाहीको छ। हाल उनको काम हेर्न गाउँका मात्र नभई बाहिरबाट पनि किसानहरू पुग्ने गरेका छन्।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउदका अनुसार शाही गाउँमै उदाहरणीय व्यक्ति बनेका छन्। "उहाँको सफलताले युवामा कृषि पेशाप्रतिको रुचि बढाएको छ," उनले बताए।

गाउँकै अर्का युवा मदन रोकायाले भने, "पूर्वउपाध्यक्षज्यूको जस्तो सबैले काम गर्ने हो भने गाउँ रित्तिने थिएन, बेरोजगारी हट्थ्यो।"

शाहीको कृषि उद्यमले देखाएको बाटो गाउँका लागि मात्र होइन, समग्र देशकै लागि प्रेरणादायी उदाहरण बन्न सक्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update