-1757419175-1757469148.jpg)
काठमाडौं । नेपाल यति बेला अराजकताको भुमरीमा छ । युवाको नेतृत्वमा गरिएको प्रदर्शनले काठमाडौंलाई घेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीलाई जिउँदै आगो लगाइयो । बंगलादेशको विद्रोहको भयावह सम्झना दिलाउने राजनीतिक शून्यताबीच अब सेना प्रमुखले सुरक्षा नियन्त्रणमा लिइरहेका छन् । भ्रष्टाचार, बेरोजगारी, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेनजी’को नेतृत्वमा सुरु नेताविहीन प्रदर्शन अराजकतामा परिणत भयो ।
राजनीतिक घरानाप्रतिको युवाको रिस, आर्थिक असमानता र डिजिटल विरोधलाई सडकमा ल्याउन बाध्य पार्ने सामाजिक सञ्जाल प्रतिबन्धजस्ता प्रदर्शनका पछाडि जायज गुनासा थिए ।
यसमा हिंसात्मक तत्त्व हाबी भएको संकेत पनि देखिएको छ । अधिकारीहरूले यसअघि स्वार्थ समूहको भूमिकाको संकेत गरेका थिए । तर, त्यसको ठोस प्रमाण अझै देखिएको छैन ।
सोमबार (भदौ २३) हजारौँ मानिस सडकमा उत्रँदा १९ जनाको मृत्यु भयो र सयौँ घाइते भए । भारतीय टेलिभिजन च्यानलहरूले यो घटनालाई अलि फरक रूपमा प्रस्तुत गरेका छन् ।
आन्दोलनका पछाडि रहेका संरचनात्मक असमानता वा त्यसपछिको राज्य हिंसालाई बेवास्ता गर्दै न्युज १८, टाइम्स नाउ नवभारत, डीडी न्युज, एनडीटीभी र आजतकका प्रस्तोताले आन्दोलनलाई विभिन्न कारण दिएका छन् ।
विरोध प्रदर्शनको देखिएका कारणहरूमा भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्ध हो । तर, भारतीय प्रस्तोताले यसलाई पूर्वनियोजित कार्य वा ‘डीप स्टेट’को षड्यन्त्रका रूपमा चित्रण गरेका छन् । युवालाई जटिल षड्यन्त्रको मोहराका रूपमा मात्र देखाइएको उनीहरूको टिप्पणी छ ।
न्युज १८ इन्डियाका अमन चोपडाले यो विश्वको पहिलो तथाकथित जेनजी आन्दोलन अचानक सुरु भएको हो वा यसका पछाडि कुनै योजनाबद्ध टुलकिट, कुनै संगठित षड्यन्त्र छ ? भन्ने प्रश्न गरे । उनले युवालाई सरकारप्रति रहेको वास्तविक निराशाका कारण नभई उक्साइएको र परिचालन गरिएको भन्दै बारम्बार संकेत गरे । टाइम्स नाउ नवभारतका सुशान्त सिन्हाले त अझ अगाडि बढेर यो विरोध प्रदर्शन भारतको विश्वव्यापी उदयसँग मेल खाने गरी र भूराजनीतिक चेसबोर्डमा मञ्चन गरिएको तर्क गरे ।
चाहे अमन चोपडा हुन्, डीडी न्युजका सुधीर चौधरी वा आजतककी अञ्जना ओम कश्यप, अधिकांश च्यानलले सधैँका निम्ति तयार रहेको ‘विदेशी हात’को हल्लालाई उजागर गरे । उनीहरूले विरोध प्रदर्शनलाई पाकिस्तान, चीन, अमेरिका, गैरसरकारी संस्थाहरू वा कोकाकोलाजस्ता कर्पोरेट लगानीकर्तासँग जोडे । यसले कथालाई नेपालको सुशासन संकटबाट भूराजनीतिक ‘थ्रिलर’तर्फ मोड्ने प्रयास ग¥यो ।
डीडी न्युजमा सुधीरले क्षेत्रीय अस्थिरताको कुनै पनि विदेशी शक्तिले सजिलै फाइदा उठाउन सक्छ भनेका छन् । उनले केही विदेशी शक्तिले यी देशलाई अस्थिर पार्न काम गरिरहेको धेरै सिद्धान्तले सुझाव दिन्छ भन्ने बताए । सुशान्त सिन्हाले नेपाललाई चीन र अमेरिकाबीचको सर्वोच्चताको संघर्षको मैदानमा परिणत गरिएको जिकिर गरे, जसले धनको खाडलजस्ता आन्तरिक मुद्दाबाट उत्पन्न विरोधलाई पूर्ण रूपमा बेवास्ता ग¥यो । उनले त झन् एक कदम अगाडि बढेर नरेन्द्र मोदीको कथित विश्वव्यापी उदयविरुद्ध यो षड्यन्त्र गरिएको बताए ।
उनले भने, “जुन समयमा नरेन्द्र मोदी विश्व राजनीतिमा धमाका गरिरहेका छन्, जब भारतको अगाडि चीन झुकिरहेको छ... त्यही बेला भारतको छिमेकमा ठूलो आगलागी भएको छ ।” रिपब्लिक टीभीमा अर्णव गोस्वामीले विरोध प्रदर्शनलाई विशुद्ध सीआईएको षड्यन्त्र भने । उनले सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सरकार ढालेको आरोप लगाए ।
उनले भने, “के अमेरिका यसको पछाडि छैन भन्ने कल्पना गर्न पनि सकिन्छ... सीआईएको अराजकताको खाका धेरै वास्तविक छ ।” आजतकमा अञ्जना ओम कश्यपले त एउटा गैरसरकारी संस्था ‘हाम्रो नेपाल’को नाम लिएर यसले कोकाकोला, भाइबर र अरू कम्पनीबाट हिंस्रक प्रदर्शन आयोजना गर्नका निम्ति २० करोड रुपैयाँ आर्थिक सहयोग पाएको दाबी गरिन् ।
तर नेपालस्थित कोकाकोला स्रोतले भने यसको खण्डन गरेको छ । हाम्रो नेपालले विभिन्न संस्थासँग भूकम्पको बेलामा सहयोग लिएको र कोकाकोलाले पनि केही भौतिक सामग्रीमात्रै सहयोग गरेको जनाएको छ । त्यसबेला पनि सबै संस्थाको सहयोग गरी त्यति रकम भए पनि कोकाकोलाले आर्थिक सहयोग भने नगरेको जनाएको छ ।
सञ्चारमाध्यमका केही भागले नेपाली युवालाई सामाजिक सञ्जाल खोसिएपछि रिसाएका विक्षिप्त डाटाका लत लागेकाहरूको रूपमा बारम्बार चित्रण गरे । बेरोजगारी, गरिबी र राजनीतिक भ्रष्टाचारजस्ता संरचनात्मक मुद्दालाई नभएर जेनजीको इन्स्टाग्राम र टिकटकप्रतिको लतलाई उपहास गर्दै स्टेरियोटाइपलाई प्राथमिकता दिएका छन् ।
डीडी न्युजमा सुधीरले पूरै आन्दोलनलाई जेनजीको रिसाएको व्यवहारका रूपमा प्रस्तुत गर्दै भने, “तिमीले उनीहरूको आँट खोस्न सक्छौ, तर उनीहरूको डाटा नखोस । युवाका निम्ति वास्तविक खाना अब आँटा नभई डाटा हो ।” उनले प्रदर्शनकारीलाई डाटा र इन्टरनेटको लतका रूपमा चित्रण गरे ।
अञ्जना ओम कश्यपले नेपालका स्नातक विद्यार्थीको दैनिक औसत स्क्रिन टाइम सात घण्टा १२ मिनेट भएकामा जोड दिँदै धेरै समय खर्चिइन् । उनले नेपालका अधिकांश युवा सुत्नेभन्दा बढी समय फोनमा बिताउने पनि बताइन् । अमन चोपडाले जेनजीको व्यापक अनलाइन उपस्थितिका बारेमा तथ्यांक प्रस्तुत गरे । र, विरोध प्रदर्शनलाई समन्वय गर्ने उनीहरूको क्षमतामाथि शंका उठाए ।
च्यानलहरूले सडकमा ढुंगामुढा गर्ने विद्यार्थी र हिंसाका दृश्यमा ध्यान दिए । एनडीटीभीको कभरेज विद्यार्थीहरूले ढुंगा हानेका दृश्यमा निर्भर थियो, जुन बारम्बार ग्राफिक्ससहित देखाइएको थियो । यो प्रस्तुतिले आन्दोलनलाई केवल अराजकतामा सीमित ग¥यो, जबकि १९ जनाको ज्यान लिने राज्य हिंसाको सन्दर्भलाई बेवास्ता गरियो । केही प्रस्तोताले आन्दोलनलाई राजतन्त्र वा हिन्दुराष्ट्रको मागका रूपमा गलत तरिकाले प्रस्तुत गरे ।
यसले जवाफदेहिता, पारदर्शिता र बलियो प्रजातन्त्रका निम्ति प्रदर्शनकारीको वास्तविक मागलाई मेटाइदियो, जबकि आन्दोलनमा शाही शासन फिर्ताको माग थिएन । एनडीटीभीका सईद सुहैलले नेपालका मानिस राजतन्त्र चाहन्छन् भन्दै फेरि हिन्दुराष्ट्र बनाउने माग रहेको दाबी गरे । तर, यो भ्रामक थियो । अञ्जना ओम कश्यपले पनि मानिस प्रजातन्त्रबाट निराश भएकाले हिन्दुराष्ट्र र राजतन्त्रको फिर्ती चाहेको बताइन् । उनले प्रजातान्त्रिक जवाफदेहिताको माग गरिरहेका प्रदर्शनकारीको वास्तविक मागलाई गलत तरिकाले प्रस्तुत गरिन् ।