प्रमुख प्रतिपक्ष दलको नेता बन्न एमालेसँग पार्टी एकताको प्रयासमा प्रचण्ड

 

काठमाडौँ । राजनीतिमा केही न केही गरिरहने पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ योजनामा लागेका छन् ।

भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुने मिति घोषणा गरेपछि २४ दल मिलाएर नेकपा बनाएका प्रचण्डले फागुन २१ को निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेनन् । यसैकारण प्रचण्ड नयाँ विकल्पको खोजीमा लागेका निकट स्रोतहरुले जानकारी दिएका छन् ।

निर्वाचनको नयाँ परिणामले पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाई मतको नजिक हुनेछ । रास्वपाले १८२ सिट प्राप्त गर्ने अवस्था छ । किनभने उसले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गर्न सक्छ ।

दोस्रो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट २० सिट प्राप्त गर्ने अवस्था छ । यसो हुँदा दोस्रो दलको सिट संख्या ३८ हुनेछ । कांग्रेस दोस्रो ठूलो दल बनेका कारण संसदमा प्रमुख प्रतिपक्षी दल कांग्रेस नै हुनेछ ।

तर, राजनीतिका चतुर खेलाडी प्रचण्ड प्रमुख प्रतिपक्षी दलको नेताको हैसियत आफूले प्राप्त गर्ने प्रयत्नमा लागेका छन् । यसका लागि उनले संसदमा तेस्रो ठूलो हुन लागेको नेकपा एमालेसँग पार्टी एकताको पहल थालेका स्रोतको भनाइ छ ।

एमालेका सबै पदाधिकारी निर्वाचनमा पराजित भएकोले एमाले नेतालाई अध्यक्ष पद दिएर भएपछि संसदमा आफू प्रतिपक्षी दलको नेता बन्ने प्रचण्डको योजना छ । यसको लागि एमाले र नेकपाबीच एकीकरण हुनुपर्नेछ ।

अहिले एमालेले प्रत्यक्षमा ९ सिट जितेको छ भने समानुपातिकमा १६ सिट प्राप्त गर्ने अवस्था छ । यसो हुँदा एमालेको कुल सिट संख्या २५ हुनेछ । यस्तै, नेकपाले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा ९ सिट जित्ने सम्भावना छ । यसो हुँदा नेकपाको १७ सिट हुनेछ । 

एमाले र नेकपाबीच एकीकरण भएमा सो पार्टीको सिट संख्या ४२ हुनेछ, जुन नेपाली कांग्रेसभन्दा बढी हो । यस्तो अवस्थामा प्रचण्ड संसदमा प्रतिपक्षी दलको नेता हुनेछन् ।

यही कारण प्रचण्डले एमालेसँग पार्टी एकीकरणको बारेमा गृहकार्य थालेको स्रोतको दाबी छ । प्रमुख प्रतिपक्षी दलको नेताले मन्त्रिपरिषद बाहेक धेरै ठाउँमा भाग पाउने संबैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update