यसरी असफल भयो सोमबारै डेपुटी गभर्नर नियुक्त गर्ने आदर्श कुमार र रामशरणको योजना

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु डा. निलम ढुंगाना र बमबहादुर मिश्रको कार्यकाल फागुन २६ गते सकिदै थियो । ५ वर्षे कार्यकालको डेपुटी गभर्नर नियुक्तिको निर्णय मन्त्रिपरिषदले गर्छ । यो नियुक्तिको लागि गभर्नरको सिफारिस अनुसारको प्रस्ताव अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा गर्नुपर्छ ।

सामान्यतः सोमबार र विहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । त्यसैले गत सोमबार पनि मन्त्रिपरिषद बैठक राख्ने तयारी प्रधानमन्त्री शुशीला कार्कीले गरेकी थिइन् । भदौ २३ र २४ को जेनजी प्रदर्शनका बारेमा गठन भएको गौरीबहादुर कार्की संयोजकत्वको छानविन आयोगले दिएको प्रतिवेदन कार्यान्वयनको निर्णयका लागि गत सोमबार मन्त्रिपरिषद बैठकको तयारी प्रधानमन्त्री कार्कीको थियो ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकको तयारी गरेपछि उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले यसको जानकारी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेललाई दिए । खरेल डेपुटी गभर्नर बन्ने दौडमा छन् । 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख रहेका खरेल जेनजी प्रदर्शनपछि सत्ताच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र डा. युवराज खतिवडाको छोरीज्वाइ हुन् । ओलीले डा. खतिवडालाई नेपाल राष्ट्र बैंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष, राष्ट्रियसभाको सांसद, अर्थमन्त्री, संचार मन्त्री, सरकारको प्रवक्ता, अमेरिकाको लागि राजदुत र आफ्नै सल्लाहकार बनाएका थिए । ओली सत्तामा पुगेपछि डा. खतिवडा सत्ताको केन्द्रमा पुग्थे भने डा. खतिवडा सत्ताको केन्द्रमा पुगेपछि उनका छोरीज्वाइ रामशरण खरेलको राष्ट्र बैंकमा फाइल बढुवा हुने गरेको थियो । खरेल राष्ट्र बैंकमा प्रवेश गरेदेखि आन्तरिक प्रतिस्पर्धामा एक पटक पनि लिखित पास नगरी फाइल बढुवाबाट कार्यकारी निर्देशक बन्न सफल भाग्यमानी कार्यकारी निर्देशक हुन् । डा. खतिवडा शक्तिमा पुगेको समयमा खरेलभन्दा सिनियर कर्मचारीलाई पाखा लगाएर धेरै जुनियर भएपनि उनलाई फाइल बढुवा गर्ने गरिएको थियो ।

डा. युवराज खतिवडा अर्थमन्त्री बनेको समयको चर्चित चकलेट काण्डको समयमा खरेल पनि अर्थमन्त्रालयमै थिए । खतिवडा अर्थमन्त्री बनेको समयमा उनका ज्वाइ खरेल राष्ट्र बैंकको उपनिर्देशक मात्रै थिए । उपनिर्देशक पदमा कार्यरत कर्मचारीलाई अर्थमन्त्रालयको सल्लाहकार बनाउने प्रचलन नभएपनि ज्वाइ–ससुरा सम्बन्धका कारण खरेल अपवाद भएका थिए ।

गत सोमबारको मन्त्रिपरिषद बैठकबाट कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा लैजाने निर्णयको तयारी प्रधानमन्त्री कार्कीले गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताले असहमति राखेका थिए । निर्वाचन गराउनको लागि गठन भएको सरकारले निर्वाचन गराइसकेको र करिब दुईतिहाई मतसहित नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेकोले सत्ता सुम्पने प्रकृयामा रहेको सरकारलाई महत्त्वपूर्ण निर्णय नगर्दा उचित हुने सुझावसहितको जानकारी रास्वपा नेताहरुले प्रधानमन्त्री कार्कीलाई गराइरहेका थिए । तर, प्रधानमन्त्री कार्की भने गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा अघि बढाउन चाहन्थिन् ।

यस्तैमा प्रधानमन्त्री कार्कीले रास्वपा वरिष्ठ नेता तथा हुनेवाला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग परामर्श गर्ने प्रयास गरिन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा अघि बढाउने निर्णयको लागि बालेनबाट सकारात्मक संकेत पाए मन्त्रिपरिषदबाट सो बारेको निर्णय गराउने योजना प्रधानमन्त्री कार्कीको थियो । यसैको लागि छलफल गर्न गत सोमबार साढे १ बजे प्रधानमन्त्री कार्की र हुनेवाला प्रधानमन्त्री बालेनबीच भेटभाघटको समय तय भएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीलाई भेट्न बालेन तयार भएका थिए । साढे १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने समय पनि तय भएको थियो । प्रधानमन्त्री कार्की र बालेनबीच भेट हुने र त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने संकेत पाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ र राष्ट्र बैंकका कार्यकारी निर्देशक खरेलले त्यही मन्त्रिपरिषद बैठकबाट डेपुटी गभर्नर नियुक्तिको निर्णय गराउने योजना बनाएको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री र बालेनबीच भेट भएर मन्त्रिपरिषद बैठक बस्ने भयो भने त्यही बैठकबाट डेपुटी गभर्नर नियुक्तिको निर्णय गराउने योजना बनाइएको थियो । यसको लागि यो समयमा सिफारिसको लागि सिंहदरबार आउनु पर्ने हुन सक्छ भनेर गभर्नरलाई तयारी अवस्थामा बस्न पनि भनिएको थियो । बालेनले रामशरण खरेललाई डेपुटी गभर्नर बनाउनु पर्छ भनेको भन्ने बनाएर बालेनको कोटामा पारेर खरेललाई डेपुटी गभर्नर बनाउने योजना थियो,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव श्रेष्ठले गभर्नर नियुक्तिको लागि सिफारिस तत्काल चाहिन सक्ने भन्दै गभर्नर डा. विश्व पौडेललाई तयारी अवस्थमा बस्नु भनेपछि गभर्नर डा. पौडेल अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न पुगेका थिए । अर्थमन्त्रीसँगको भेटमा गभर्नर पौडेलले बालेनको तर्फबाट रामशरण खरेललाई डेपुटी गभर्नर बनाउने प्रस्ताव गएको भन्दै अर्काे एजनामा रामु पौडेललाई बनाउन आग्रह गरेको स्रोतको दाबी छ ।

रामु पौडेललाई डेपुटी गभर्नर बनाउन गभर्नर डा. विश्व पौडेलको जोडबल छ । रामु पौडेलले यसको लागि माहोल पनि बनाइरहेका छन् । गत निर्वाचनमा रास्वपा सभापति रवि लामिछाने उम्मेदवार बनेको चितवन २ को मतगणनास्थलमा रामु पौडेल पनि पुगेका भनेर स्रोतले दाबी गरेपनि स्वतन्त्र पुष्टी भने हुन सकेको छैन । 

रामु पौडेल अहिले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख छन् । उनलाई जेनजी आन्दोलनले सत्ताच्युत भएको ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलको जोडबलमा सो विभाग ल्याइएको बतान्छ । नियमन विभाग जानु अघि कार्यकारी निर्देशक पौडेल मुद्रा व्यवस्थापन विभागमा गएको करिब ६ महिना मात्रै भएको थियो । कांग्रेसको कोटाबाट गभर्नर बनेपनि डा. विश्व पौडेल र एमाले नेता विष्णु पौडेलबीच असाध्यै सुमधुर सम्बन्ध छ ।

गभर्नर डा. पौडेलले रामशरण खरेल र रामु पौडेललाई गभर्नर बनाउन भनेपछि अर्थमन्त्री खनालले यसबारेमा रास्वपा नेताहरुलाई जानकारी गराउने बताएका थिए । 

कसरी तुहियो योजना ?

सोमबार अपरान्ह मन्त्रिपरिषद बैठक बस्ने, बैठकले कार्की आयोग कार्यान्वयनमा लैजाने र डेपुटी गभर्नर नियुक्तिको निर्णय गर्ने भन्ने तय भएको थियो । यद्यपि, डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया प्रधानमन्त्री कार्की र बालेनबीच भेट भएकै समयमा सक्ने योजना आदर्शकुमार श्रेष्ठ र रामशरण खरेलको थियो । 

तर, यही बीचमा यी दुबै निर्णय र योजनाको जानकारी बालेनसम्म पुगेको स्रोतले बतायो । यी दुबै निर्णयप्रति बालेनको राय थाहा नभएको तर उनी प्रधानमन्त्रीलाई भेट्न पनि नगएको स्रोतको भनाइ छ ।

‘सोमबार दिउसो साढे १ बजे प्रधानमन्त्रीसँग भेट्ने भनेर बालेनको कुरा भएको रहेछ । बालेनले आउने पनि भन्नुभएको रहेछ । तर, पछि के कसो भएर हो उहाँले फोन पनि उठाउनु भएनछ, प्रधानमन्त्री कार्यालय पनि आउनु भएन,’ स्रोतले भन्यो । त्यसयता मन्त्रिपरिषद बैठक पनि बसेको छैन ।

सम्बन्धित समाचार

डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update