Odapalika - The Fourth Estate - चौथो अंग
डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने मुडमा अर्थमन्त्री, बालेनसँग नाता जोड्ने प्रयासमा खरेल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर तत्काल नियुक्त गर्ने संकेत दिएका छन् । फागुन २६ गतेदेखि डेपुटी गभर्नर पद रिक्त भएपछि सल्लाह गर्न गएका गभर्नर डा. विश्वनाथ पौडेललाई अर्थमन्त्री खनालले तत्काल नियुक्त गर्ने संकेत दिएका हुन् ।

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को करिब दुईतिहाई मत प्राप्त हुने देखिएको छ । तर, नयाँ सरकार गठनमा समय लाग्ने र तत्काल डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंकको कामकारवाहीमा असर पर्ने भन्दै अर्थमन्त्री खनालले रास्वपासँग समन्वय गरी नियुक्त गर्ने संकेत दिएका हुन् । अर्थमन्त्री खनाल पूर्वअर्थ सचिव हुन् । अर्थ सचिव हुँदा उनी नेपाल राष्ट्र बैंकको संचालक समिति सदस्य थिए । 

डेपुटी गभर्नर तत्काल नियुक्त हुने कुराको संकेत गभर्नर डा. पौडेलले आफू निकट उच्च अधिकारीलाई दिएका छन् । सोमबार सोल्टी होटलमा आयोजित डेपुटी गभर्नरहरु निलम ढुंगाना र बमबहादुर मिश्रको विदाई पार्टीमा गभर्नर डा. पौडेलले ‘रास्वपालाई जानकारी गराएर नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने संकेत अर्थमन्त्रीले दिएको’ बताएका स्रोतले जानकारी दियो ।

‘गभर्नर साब नयाँ डेपुटी गभर्नरको सिफारिस लिएर अर्थमन्त्रीलाई भेट्न जानु भएको रहेछ सायद, नयाँ सरकार आएपछि गर्ने कि यही सरकारले गर्ने भनेर मैले सोध्दा उहाँहरु (रास्वपा) लाई जानकारी गराएर  तत्काल नियुक्त गर्नुपर्छ होला भनेर अर्थमन्त्रीले भन्नुभयो भनेर गभर्नरसाब सिमित मान्छेलाई सुनाउँदै हुनुहुन्थ्यो,’ स्रोतले भन्यो ।  

बालेनसँग नाता जोड्ने प्रयासमा खरेल

डेपुटी गभर्नर पद रिक्त भएपछि सो पद प्राप्त गर्न राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच दौडधुप बढेको छ । सरकारले गभर्नरको सिफारिसमा राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । अहिले राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् ।

अहिले भएका कार्यकारी निर्देशकहरु नेपाली कांग्रेस, एमाले र माओवादी निकट भनेर चर्चा हुने गरेपनि रास्वपा निकट भनेर कसैलाई पनि भन्ने गरिएको थिएन । तर, करिब दुईतिहाई मतसहित रास्वपाले नयाँ सरकार गठन गर्न लागेकोले सो पार्टीको संकेत र सहमतिविना वर्तमान सरकारले पनि डेपुटी गभर्नर नियुक्त गर्ने अवस्था छैन । यही परिवेशमा केही कार्यकारी निर्देशकहरु आफू रास्वपा निकट रहेको प्रमाण बनाउन लागेका स्रोतले जानकारी दिएको छ ।

यसरी प्रमाण बनाउन लाग्नेहरुमा कार्यकारी निर्देशक डा. रामशरण खरेल अग्रस्थानमा छन् । उनी राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख छन् भने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका विश्वासपात्र डा. युवराज खतिवडाका छोरीज्वाइ हुन् ।

केपी ओलीले आफू शक्तिमा छदा पटक पटक गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्री, मन्त्री, राजदुत र आर्थिक सल्लाहकार बनाएका डा. खतिवडा पनि झापा निर्वाचन क्षेत्र नं. ५ कै स्थायी बासिन्दा हुन् । ओली शक्तिमा आउँदा सधै लाभको पद लिइरहेका डा. खतिवडाले पनि आफू शक्तिमा हुँदा ज्वाइ रामशरण खरेललाई हैसियतभन्दा बढी लाभ प्रदान गरे गराएका थिए ।

तर, अहिले डा. खरेल झापा–५ सँग आफ्ना ससुरा डा. खतिवडाको सम्बन्धलाई प्रयोग गरेर डेपुटी गभर्नर बन्ने प्रयासमा लागेको स्रोतले बतायो । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरी रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । रास्वपाले बालेनलाई अब बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

स्रोतका अनुसार कार्यकारी निर्देशक खरेलले आफूहरु एमाले अध्यक्ष ओलीलाई पराजित गरी बालेनलाई विजयी गराउन सक्रिय रहेको खबर बालेनसमक्ष पुर्याउन प्रयास गरिरहेका छन् । यसको लागि खरेलले बालेनको ससुराली पक्षलाई समेत प्रयोग गर्ने प्रयास गरेका छन् ।

‘बालेनको ससुराली मोरङको उर्लाबारी रहेछ, जुन ठाउँ झापाको दमकको नजिकै हो । बालेनलाई जिताउन हामीले यहाँको एमाले संयन्त्रलाई गोप्य ढंगले परिचालन गरेका थियौं भनेर खरेल र उनको परिवारले खबर पठाइरहेको छ । तर, बालेनको टिमले अहिले यस्ता कुरा सुन्ने समय होइन भनेको रहेछ,’ स्रोतले भन्यो ।

कार्यकारी निर्देशक खरेल त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा एमए अर्थशास्त्रको गोल्ड मेडलिस्ट हुन् । उनले राष्ट्र बैंकमा जागिर खान सुरु गर्दा अर्थशास्त्रको गोल्ड मेडलिस्टलाई लिखित परीक्षा नलिई अन्तरवार्ताको भरमा जागिर दिने गरिन्थ्यो । सोही व्यवस्था अनुसार खरेल लिखित परीक्षा नै नदिइ राष्ट्र बैंकका जागिरे भएका थिए ।

तर, त्यसपछि आन्तरिक प्रतिस्पर्धामा भने खरेल सधै लिखितमै फेल हुने गरेका राष्ट्र बैंक स्रोतले जानकारी दियो । आन्तरिक प्रतिस्पर्धामा कहिल्यै सफल हुन नसकेका खरेल फाइल बढुवा र ससुरा डा. खतिवडा सत्तामा भएको बेलामा ‘दबाब बढुवा’बाट कार्यकारी निर्देशक भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update