Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी

काठमाडौँ । सरकारी सम्पत्तिमा रजाई गर्न पाइने अवस्था सिर्जना भयो भने कतिसम्म रजाईं हुँदो रहेछ भन्ने एउटा उदाहरण वडापालिकालाई प्राप्त भएको छ ।

आजदेखि अवकाशमा गएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको लागि खरिद गरिएको गाडी ५ वर्षसम्म राष्ट्र बैंकमै थन्क्याएर उल्टै पेट्रोल खर्च लिएको तथ्य फेला परेको हो । उनले ५ वर्षअघि राष्ट्र बैंकलाई किनाएको गाडीका लागि प्रत्येक महिना १५० लिटर पेट्रोलको मूल्य बराबरको रकम लिने गरेका स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको पालामा डेपुटी गभर्नर मिश्रको लागि राष्ट्र बैंकले टोयोटाको र्याभ–४ गाडी खरिद गरेको थियो । सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।

टोयोटा कम्पनीको सो हाइब्रिड गाडी नेपालमा २ करोड रुपैयाँको हाराहारी पर्छ । तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको भरपर्दाे सहयोगीका रुपमा परिचित मिश्रका लागि महंगो गाडी खरिद गरिएको हो । यद्यपि, नेपाल राष्ट्र बैंकले बनाएको ‘गभर्नर/डेपुटी गभर्नरलाई उपलब्ध गराइने सवारी साधन सुविधा व्यवस्थापन कार्यविधि’का अनुसार डेपुटी गभर्नरको लागि बढीमा १ करोड ४३ लाख रुपैयाँसम्मको गाडी मात्रै खरिद गर्न पाइन्छ । विद्युतीय र हाइब्रिड गाडी खरिद गर्दा यो मूल्यसीमाको ३० प्रतिशतसम्म थप रकमको खरिद गर्न पाइन्छ । यसैकारण डेपुटी गभर्नर मिश्रको लागि झण्डै २ करोड रुपैयाँ पर्ने टोयोटा र्याभ–४ हाइब्रिड खरिद गरिएको हो ।

सो कार्यविधि अनुसार डेपुटी गभर्नरका लागि खरिद गरिएका गाडीको ४ वर्षसम्म २० प्रतिशतका दरले ह्रासकट्टी गरिन्छ । यसरी ह्रासकट्टी गरिएका गाडी उनीहरु अवकाशमा गएपछि ह्रासकट्टीपछिको मूल्य वा परल मूल्यको २० प्रतिशतका दरले जुन बढी हुन्छ सोही मूल्यमा उनीहरुलाई उपलब्ध गराइन्छ । सो कार्यविधिको आशय डेपुटी गभर्नरमा नियुक्त भएपछि सो व्यक्तिका नयाँ गाडी खरिद गर्ने, पदमा हुन्जेल सोही गाडी प्रयोग गर्ने र अवकाश भएपछि उसले प्रयोग गरिरहेको गाडी ह्रासकट्टी पछिको मूल्य वा परल मूल्यको २० प्रतिशतमा जुन बढी हुन्छ सोही मूल्यमा सम्बन्धित व्यक्तिलाई खरिद गर्न दिने भन्ने हो ।

तर, डेपुटी गभर्नर मिश्रले आफ्नो लागि खरिद गरिएको गाडी प्रयोग गरेनन् । उनका लागि खरिद गरिएको गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको स्रोतले जानकारी दियो । सो गाडी ५ वर्षको अवधिमा जम्मा ६ हजार ७ सय किलोमिटर मात्रै गुडेको बताइन्छ । तर, प्रत्येक महिना १५० लिटरका दरले पेट्रोल सुविधा लिदा ५ वर्षमा सो गाडीका लागि राष्ट्र बैंकले ९ हजार लिटर पेट्रोलको मूल्य तिरेको छ । 

डेपुटी गभर्नर मिश्रले अवकाशपछि प्रयोग गर्ने गाडी नयाँ नै रहोस् भन्ने उदेश्यले नचलाई छोपेर राखेका हुन् । यद्यपि, उनले ४ वर्षमा एक पटक पाउने चारवटै टायर फेर्न पाउने र वार्षिक करिब २५ हजार रुपैयाँको मर्मत संभार शुल्क पनि राष्ट्र बैंकबाट लिएको स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?
ललिता निवासमा अर्काे काण्डः प्लेट रातो–गाडी सरकारी, होला त जफत ?

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update