Odapalika - The Fourth Estate - चौथो अंग
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु

काठमाडौं । इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ । यी आक्रमणहरूमा २०० भन्दा बढी मानिस मारिएका छन् । एक हजारभन्दा बढी घाइते भएको बताइएको छ । 

सोमबारदेखि बुधबारसम्म भएका यी आक्रमणहरूमार्फत इजरायलले यी देशहरूमा रहेका आतंकवादीहरूका अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो विषयलाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

तर, नेतन्याहूले भने कतारको राजधानी दोहामा हमासका अधिकारीहरूमाथि गरिएको आक्रमणको बचाउ गरेका छन् । उनले यस आक्रमणको तुलना ९/११ को आक्रमणपछि अमेरिकाले गरेको कारबाहीसँग गरेका छन् । इजरायलले पनि त्यही गरेको तर्क गरेका छन् ।

कतारमा आक्रमण
इजरायली सेनाले मंगलबार कतारको राजधानी दोहामा हवाई आक्रमण गरेको थियो । यो आक्रमण हमासका प्रमुख खलील अल–हय्यालाई निशाना बनाएर गरिएको थियो । यसमा अल–हय्याका छोरा, कार्यालय निर्देशक, तीन सुरक्षाकर्मी र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।

यो आक्रमण हुँदा हमासका नेताहरू अमेरिकाको युद्धविराम प्रस्तावमाथि छलफल गरिरहेका थिए । यस आक्रमणपछि हमासले युद्धविराम अस्वीकार गरेको छ ।

लेबनानमा पाँचजनाको मृत्यु
इजरायलले सोमबार पूर्वी लेबनानको बेका र हरमेल जिल्लामा हवाई हमला गर्दा पाँचजनाको ज्यान गएको छ । इजरायली सेनाले यो आक्रमणमा हिजबुल्लाहका सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ । हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन ।

मंगलबार इजरायली ड्रोनले हिजबुल्लाहका एक सदस्यमाथि आक्रमण गरेको थियो । सन् २०२४ नोभेम्बरमा इजरायल र लेबनानबीच युद्धविराम भए पनि इजरायलले लेबनानको दक्षिणी भागमा आक्रमण जारी राखेको छ ।

सिरियामा आक्रमण
इजरायली लडाकु विमानहरूले सोमबार सिरियाको वायुसेना अड्डा र सैनिक शिविरमाथि आक्रमण गरेका थिए । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार यसमा कुनै मानवीय क्षतिको खबर आएको छैन ।

सिरियाको विदेश तथा प्रवासी मन्त्रालयले यी आक्रमणहरूलाई देशको सार्वभौमिकताको उल्लंघन भन्दै इजरायल राष्ट्रिय र क्षेत्रीय सुरक्षाका लागि खतरा भएको बताएको छ ।

सिरिया र इजरायलबीच सन् १९७४ मा सैन्य फिर्ता सम्झौताअन्तर्गत एक–अर्कालाई आक्रमण नगर्ने सहमति भएको थियो । तर, गत वर्ष डिसेम्बरमा सिरियाका पूर्व राष्ट्रपति बशर अल–असदको पतनपछि इजरायली सेनाले सिरियाका सैन्य अखडाहरू र पूर्वाधारलाई लगातार निशाना बनाउँदै आएको छ । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको रिपोर्ट अनुसार, यो वर्ष इजरायलले सिरियामा ८६ हवाई र ११ वटा स्थलगत आक्रमण गरेको छ । उक्त आक्रमणमा ६१ जनाको मृत्यु भएको छ । १३५ स्थानहरूलाई निशाना बनाइएको छ ।

ट्युनिसियामा आक्रमण
इजरायली ड्रोनले सोमबार राति ट्युनिसियाको बन्दरगाहमा एउटा पारिवारिक डुंगामाथि आक्रमण गरेको थियो । पोर्चुगिज झण्डा लगाएर यात्रा गरिरहेका उक्त डुंगामा ६ जना सवार थिए । प्यालिस्टिनी समर्थित ग्लोबल सुमुद फोलिटिला (जीएसएफ)का अनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति भएन । 

यो समूह इजरायलले गाजामा लगाएको नाकाबन्दीविरुद्ध खाद्यन्नसहितको जहाज लिएर गाजाको यात्रामा रहेको अलजजिराले जनाएको छ ।

इजरायली ड्रोनले मंगलबार पनि बेलायतको झण्डा लगाएर यात्रा गरिरहेको जहाजलाई निशाना बनाएको थियो । सन् २०१० देखि हालसम्म गाजा क्षेत्रमा प्रवेश गर्न खोज्ने जहाजहरूमाथि इजरायली ड्रोनहरूले आक्रमण गर्दै आएका छन् ।

यमनमा ३५ जनाको मृत्यु
इजरायलले बुधबार यमनको राजधानी सानामा १५ दिनभित्र दोस्रो पटक आक्रमण गरेको छ । आक्रमणमा ३५ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । यसमा हुथीहरूका अखडाहरूलाई निशाना बनाइएको थियो । यो आक्रमण साना विमानस्थलमा गरिएको थियो ।

यसअघि, अगस्ट २८ मा इजरायलले सानामा आक्रमण गर्दा हुथी प्रधानमन्त्री अहमद अल–रहावीसहित १० जनाको मृत्यु भएको थियो । ९० जना घाइते भएका थिए ।

गाजामा १५० जनाको मृत्यु
इजरायली आक्रमणहरूबाट सोमबार गाजामा करिब १५० जनाको मृत्यु भएको छ । ५४० जना घाइते भएका छन् । सन् २०२३ देखि हालसम्म गाजामा ६४ हजार ६०० भन्दा बढी प्यालेस्टिनीहरू मारिइसकेका छन् ।

गाजामा हालसम्म ४०० मानिसहरू भोकले र हजारौँ भग्नावशेषमा पुरिएर मरेका छन् । गाजाको लगभग ७५ प्रतिशत हिस्सा इजरायलको कब्जामा छ । अलजजिरा 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update