Odapalika - The Fourth Estate - चौथो अंग
टेलिकमले ल्यायो दसैं, तिहार र छठका लागि विशेष अफर, यस्ता छन् सुविधा

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठलगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ। सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ६ गतेदेखि प्रारम्भ हुनेछन् । 

टेलिकमले दिएको जानकारी अनुसार यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्क ५ सय रुपैयाँ मिनाहा गरिएको छ । यसै गरी दसैं-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

साथै, २५० रुपैयाँमा  १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १ हजार अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ । 

विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझबढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने विश्वास कम्पनीको रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update