
काठमाडौँ । निजी क्षेत्रबाट उर्जा उत्पादन गरिरहेका उद्यमीहरुको संस्था स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) सिन्धुपाल्चोकको भोटेकोशी जलविद्युत आयोजनाको सेयर जेनजीका नाममा सित्तैमा नलिइएको बताएको छ ।
इप्पानले दिएको जानकारी अनुसार सो कम्पनीले आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा नै दिइएको हो ।
‘२०८२ साल असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडबीच निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । सर्वप्रथम त दुवै कम्पनीबीच निःशुल्क सेयर लिने दिने सहमति नभएको स्पष्ट पार्न चाहान्छौं,’ इप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडलेको १० प्रतिशत सेयरको लागि आवेदन दिन अगाडी जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाईसकेपछि कम्पनीले प्रति सेयर बराबर अंकित मुल्य रु १००।– रहेको सेयर १० प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि कम्पनीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको इप्पानको भनाइ छ ।
‘निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले कम्पनीले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्यम लगायत सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछौ,’ इप्पानले भनेको छ ।