Odapalika - The Fourth Estate - चौथो अंग
खराब लयमा रहेको नेपाल पहिलो जितको खोजीमा अन्तिम खेल खेल्दै 

काठमाडौँ । यूएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज बुधबार यूएईसँग खेल्दैछ।

दुबईको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। यसअघि सिरिजको ३ खेलमा हार भोगेको नेपाली टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। 

यूएईसँगको पहिलो खेलमा हार भोगेको नेपाली टोली आजको खेलमा हारको बदला लिँदै महत्वपूर्ण २ अंकको खोजीमा छ। 

उता सिरिजको पहिलो खेलमा नेपाललाई पराजित गरेको युएई लगातार दोस्रो जितको खोजीमा छ। अमेरिकासँग दुई हार भोगेको यूएई नेपाललाई हराउँदै अंक तालिकामा २ अंक थप्न चाहान्छ।
 
यूएई भ्रमणमा रहेको नेपालले अमेरिकासँगको पहिलो खेलमा १ सय ६ रनको हार भोगेको थियो। दोस्रो खेलमा पनि ४ विकेटको हार भोगेको थियो। 

यूएईसँग भने नेपाल ५ विकेटले पराजित भएको थियो। यूएई अमेरिकासँग पहिलो खेलमा ४ विकेटले हार भोगेको थियो। दोस्रो खेलमा भने २ सय ४३ रनको फराकिलो हार व्यहोरेको थियो। 

अंक तालिका
आईसीसी विश्वकप लिग–२ मा ५ टोलीले २४ खेल खेलिसकेका छन्। ओमानले २० खेल खेलिसकेको छ। नेपाल र यूएईले समान १९ खेल खेलेका छन्। 

लिगको २४ खेल खेलेको अमेरिका १८ खेलमा जित र ६ खेलमा हार भोग्दै ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट १३ मा जित र ७ खेलका हार तथा ४ खेलमा अंक बाँडेको स्कटल्यान्ड ३० अंकमा दोस्रो स्थानमा छ। समान २४ खेलबाट १३ जित, ९ हार र २ खेलमा अंक बाँड्दै नेदरल्यान्ड्स २८ अंकमा तालिकाको तेस्रो स्थानमा छ। 

२० खेलबाट ११ जित, ७ हार र २ खेलमा अंक बाँडेको ओमान २४ अंकमा चौथो स्थानमा छ। लिगको २४ खेलमा ९ जित, १२ हार र ३ खेलमा अंक बाँडेको क्यानडा २१ अंकमा पाचौँ स्थानमा छ। 

२४ खेलमध्य ९ जित, १४ हार र एक खेलमा अंक बाँडेको नामिबिया १९ अंकमा छैटौँ स्थानमा छ। 
लिगका १९ खेलमा ५ खेलमा जित, १२ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १२ अंकमा तालिकाको सातौँ स्थानमा छ। समान खेलबाट ४ खेलमा जित र १५ खेलमा हार भोगेको यूएई ८ अंकमा तालिकाको पुछारमा छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update