काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग त्यहाँको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे विस्तृत छलफल गरेका छन् ।
ककनीका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले जनताका समस्याको जानकारी लिएर सम्बन्धित निकायसँग समन्वयमार्फत समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको उक्त छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए ।
छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसुदन ढकाल, रोजिन लामा, शिशिर फुयाँललगायतको उपस्थिति थियो । भेटका क्रममा ककनी गाउँपालिकाको समग्र विकास निर्माण, सडक पूर्वाधार, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गाको व्यवस्थापन तथा स्थानीय नागरिकले भोगिरहेका अन्य समस्याका विषयमा विस्तृत छलफल भएको थियो ।
स्थानीय जनप्रतिनिधिले वर्षायाममा बाढी–पहिरोको जोखिम बढ्दै गएको, विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका थिए । त्यस्तै सिसडोल र बञ्चरेडाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले त्यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
छलफलमा फोहर व्यवस्थापनका क्रममा काठमाडौँ महानगरपालिकासँग अपेक्षित समन्वय हुन नसकेको विषय पनि उठाइएको थियो । प्रभावित क्षेत्रमा फोहोरका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सरकारबाट आवश्यक सहयोग र प्रभावकारी समन्वयको अपेक्षा व्यक्त गरेका थिए । यो समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको उनीहरुको धारणा थियो ।
स्थानीय जनप्रतिनिधिले सडक पूर्वाधारलाई ककनीको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै विभिन्न स्थानमा सडक विस्तार तथा सडक कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राख्न आग्रह गरे । निर्वाचनका क्रममा स्थानीयवासीले उठाएका गुनासा स्मरण गराउँदै उनीहरूले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण नागरिकले दैनिक सास्ती भोग्नुपरेको विषयसमेत उठाए ।
सडक विस्तारका क्रममा गुठीको जग्गा पर्ने ठाउँको पहिचान तथा त्यसको अभिलेख अद्यावधिक तथा व्यवस्थापन गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको विषय पनि छलफलमा उठाइएको थियो ।
नुवाकोटको कुलेदेखि गौरीखर्कसम्मको सडक निर्माण सम्पन्न भए त्यस क्षेत्रका नागरिकलाई उल्लेखनीय राहत पुग्ने भएकाले यसलाई प्राथमिकतामा राख्न पनि उहाँहरुले आग्रह गरे । त्यस्तै तिनपिप्ले–चाउथे–गल्छी सडक योजनालाई पनि प्राथमिकतामा राख्न आग्रह गरिएको थियो ।
छलफलका क्रममा ककनीको चाउथेलगायत केही क्षेत्रमा नेपाल टेलिकमका टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सञ्चार सेवामा समस्या भइरहेको विषय पनि उठाइएको थियो । त्यसैगरी, किसानले समयमै रासायनिक मल नपाएको तथा मल वितरणमा अनियमितता र चुहावट हुनसक्ने आशङ्का रहेको भन्दै सम्बन्धित निकायबाट छानबिन र प्रभावकारी व्यवस्थापनको माग गरिएको थियो ।
जनप्रतिनिधिहरूले उठाएका विषयलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले आफू सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा रहे पनि नुवाकोट क्षेत्र नम्बर १ का जनप्रतिनिधिका रूपमा नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
मल वितरणमा समस्या रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग यसबारे जानकारी मागिने र आवश्यक समन्वय गरिने जानकारी उनले दिए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकारले शासकीय सुधार, नागरिक सेवा प्रवाह र आन्तरिक प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए ।
‘सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर प्रभावकारी ढङ्गले काम गर्नसके नागरिकका गुनासा छिटो सम्बोधन गर्न सकिन्छ । तीनवटै तहबीच समन्वय गरेर काम गर्न सकियो भने दोहोरोपन हट्छ, स्रोत–साधनको प्रभावकारी उपयोग हुन्छ र आवश्यकताका आधारमा योजना अघि बढाउन पनि सहज हुन्छ,’ उनले भने ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नुवाकोटका लागि आवश्यक बजेट व्यवस्थापनमा आफूले पर्याप्त पहल गरेको स्पष्ट पार्दै रणनीतिक महत्वका सडक आयोजनाको कामलाई तीव्रता दिन सडक विभागका सम्बन्धित अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए । नुवाकोटका सडक आयोजना छिटो सम्पन्न गर्ने विषयमा सडक विभागसँग समन्वय भइरहेको र पूर्वाधार विकास मन्त्रालयसँग पनि निरन्तर समन्वय भइरहेको बताए ।
स्थानीय तहसँगको यो छलफललाई समस्या समाधानको प्रारम्भिक चरणका रूपमा उल्लेख गर्दै संवादलाई निरन्तरता दिइने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता ।
‘यो संवादको थालनी हो, अन्त्य होइन । हामी सरोकारवाला निकायसँग नियमित छलफल गरेर स्थानीय तहका समस्या समाधानका लागि निरन्तर पहल गर्छौं’, उनले भने ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले कुनै पनि समस्या तत्काल समाधान हुने अवस्था सबैमा नहुन सक्ने उल्लेख गर्दै उपलब्ध स्रोत, साधन र अधिकारको सीमाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।
‘समस्या समाधानका लागि कसैसँग पनि जादुको छडी छैन । तर सबै निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे नागरिकका धेरै समस्या समाधान गर्न सकिन्छ । प्रयास पर्याप्त नभएको महसुस भए त्यसबारे पनि जानकारी गराउनुस्, हामी सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्नेछौँ’, उनले भने ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकका आवश्यकता र स्थानीय तहका प्राथमिकतालाई केन्द्रमा राखेर सम्बन्धित मन्त्रालय तथा निकायसँग नियमित समन्वय गर्दै नुवाकोटका विकास निर्माण र जनजीविकासँग जोडिएका विषयलाई अघि बढाइने विश्वास व्यक्त गरे । रासस




