काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातिएको छ । पार्टी, उम्मेदवार र नेता कार्यकर्ता भोट माग्न मतदाताको घरघर पुगिरहेका छन् ।
अहिले निर्वाचन आयोगले घरदैलो गर्न र आमसभा गरेर प्रचार प्रसार गर्न समय दिएको छ । यसैकारण दल र उम्मेदवारहरु औपचारिक रुपमा अहिले मत माग्नको लागि गाउँगाउँ मात्रै होइन, टोल र बस्तीहरुमा पुगिरहेका छन् ।
यही समयमा दोलखाको एउटा पालिका र नुवाकोटको अर्काे पालिकाका वडाहरुले गाउँको बाटो बन्द भएको सार्वजनिक सुचना प्रकाशन गरेका छन् । दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं. ७ र नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ ले गाउँको बाटो बन्द गरेका हुन् ।
यद्यपि, ती वडाहरुले बाटो बन्द गर्नुको सम्बन्ध चुनावसँग छैन । कालिन्चोक गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर पाण्डेका अनुसार सोती–साँधिखोला सडक अन्तरगतको धमिरे–ढङ्गे–निवारे सडक ढलान गर्ने कार्य भइरहेकोले बन्द गरिएको हो । सो सडकखण्डमा सवारी साधनको आवत जावत पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
यस्तै, नुवाकोटको ककनी गाउँपालिकाको वडा नं. २ मा पर्ने पहिरे सुनारटोल सानोचित्रे सडक बन्द गरिएको छ । सो सडक पनि स्तरोन्नतिको कार्य भइरहेकोले सवारी साधनको आवत जावत पूर्ण रुपमा बन्द गरिएको वडाध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए । यी दुबै सडक अर्काे सुचना जारी नहुन्जेलको लागि बन्द गरिएको ती वडा कार्यालयहरुले जानकारी दिएका छन् ।







