Odapalika - The Fourth Estate - चौथो अंग
गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ यात्रु घाइते भएका छन् ।

भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका निम्ति प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।

घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update