Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस नेता आलमको निधनको शोकमा ईशनाथ नगरपालिकामा सार्वजनिक बिदा

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिकामा आइतबार (कात्तिक २३) सार्वजनिक बिदा दिइएको छ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन शोकमा बिदा दिइएको नगरप्रमुख कौशल्या देवीले बताइन् ।

“नगरपालिकाले आज एक दिन स्थानीय बिदा दिएको हो,” उनले भनिन् ।

नगरपालिकाभित्रका सम्पूर्ण सरकारी/सार्वजनिक कार्यालय, विद्यालय तथा संघसंस्थामा सार्वजनिक बिदा दिइएको उनले बताइन् ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वसभापति ६३ वर्षीय आलमको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा शनिबार (कात्तिक २२) बिहान निधन भएको हो । उनले विगतमा रौतहटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए ।

आलम ०१९ असार ५ गते रौतहटको तत्कालीन राजपुर फरहदवा गाविस–४ मा जन्मिएका थिए । उनले ०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका थिए । उनी पटक–पटक मन्त्री बने । उनको राजनीतिक जीवन विवादास्पद पनि रह्यो ।

०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिकाका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसलापछि उनले जेलजीवन बिताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update