Odapalika - The Fourth Estate - चौथो अंग
दुर्गा प्रसाईंको अभियानले फिर्ता लग्यो विरोधका कार्यक्रम

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो ।

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्यसल्लाहकार अजयभद्र खनाल र अभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ । शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी अभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्ने सहमति गरेको छ ।

सहमतिलगत्तै अभियानले घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । अर्को चरणको वार्ता अभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update