Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन

काठमाडौं- जनेजी प्रदर्शनमा तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) लेखिएको टिसर्ट लगाउने समूह ‘बाइक राइड’का लागि मात्रै गठन भएको खुलेको छ । 

भदौ २३ मा भएको जेनजी प्रदर्शनका क्रममा तेन्जिन दावा लामाको समूहले टीओबी लेखिएको टिसर्ट तथा बुलेट मोटरसाइकल पड्काउँदै आएर प्रदर्शनलाई अराजक बनाएका थिए । सोही आरोपमा प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

तर, प्रहरीको लामो अनुसन्धानले टीओबी लेखिएको टिसर्ट लगाउने समूह मोटरसाइकल राइडका लागि र विभिन्न ठाउँ घुम्ने प्रयोजनका लागि मात्रै गठन गरेको खुलाएको हो । काठमाडौं प्रहरीले पक्राउ गरेका दावा लामामाथिको लामो अनुुसन्धानबाट उक्त बाइक ग्रुपका अध्यक्ष भने दावा लामा नै रहेको खुलेको हो । 

टीओबीबारे काठमाडौं प्रहरीले लामो अनुसन्धान गरेर उक्त समूहलाई कुनै पनि विदेशी संस्थाहरुले समेत आर्थिक सहयोग नगरेको खुलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइका अनुसार दावा समूहले २०२४ जुन १० मा ‘बाइक ग्रुप’का रुपमा स्थापना भएको खुलेको जानकारी दिए । 

एसपी भट्टराईले भने,‘‘मोटरसाइकल भएका साथीहरुबीच भेटघाट गरी घुम्न जाने उद्देश्य र सामाजिक सेवामा लाग्ने उद्देश्य राखेरमात्रै स्थापना भएको अनुसन्धानले देखाएको छ ।” कुल ५६ जना सदस्य रहेको ग्रुपका साथीहरुबीच ह्वाट्सएप र इन्स्टाग्राममार्फत् सम्पर्क हुने गरेको पाइएको छ ।

तर, हाल उक्त समूहमा २५ जनामात्रै सक्रिय रहेको र जेनजी प्रदर्शनमा २० जनामात्रै सहभागी रहेको खुलेको एसपी भट्टराईले बताए । असोज २६ मा पक्राउ परेका दावा भने अझै प्रहरीको थुनामा छन् ।  उनीविरुद्ध प्रहरीले प्रहरीले कीर्ते, नागरिकता तथा राहदानी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

प्रहरीको अनुसन्धानबाट दावा नेपाली नभएको खुलाएको हो । किर्ते गरेर दावाले नागरिकतादेखि राहदानीसमेत लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । टीओबीमा सहभागी अन्य सबै नेपाली नै रहेको खुलेको छ । प्रहरीले जनेजी प्रदर्शनमा सहभागी टीओबीका अन्य सबै सदस्यहरुले प्रयोग गरेको मोटरसाइकल र उनीहरुलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । 

तर, हालभने निरन्तर सम्पर्कमा रहने गरेर उनीहरुलाई छाडिएको छ ।

प्रहरीले प्रर्दशनमा प्रयोग भएका १४ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धानका क्रममा टिसर्टमा रहेको ड्रागनको चित्रको डिजाइनर समेत दावा नै भएको खुलाएको छ । उनीहरुले टिसर्ट आफ्नो समूहको पहिचानका लागि बनाएको बयान प्रहरीलाई दिएका छन् । 

प्रहरीको अनुसन्धानबाट टीओबीले आफ्नो संरचना नै बनाएर बाइक राइडर समूह भएको खुलाएको छ । टीओबीको अध्यक्षमा दावा लामा तथा रोड क्याप्टेनमा मिन्तोक लिम्बु, उपाध्यक्षमा सिद्धार्थ तामाङ राखिएको छ । यसरी नै राइड म्यानेजमेन्टमा आएन राई, आर्थिक म्यानेजमेन्टमा ग्यालेन लामा, सुरक्षा म्यानेजमेन्टमा विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कहीँ घुम्न जाने योजना तथा भेटघाट भने चाबहिलस्थित लाइभ गार्डेन तथा गोपिकृष्ण हल नजिकै भेट्ने गरेका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरु हरेक छ महिनामा काठमाडौं बाहिर जाने गरेको पाइएको छ । काठमाडौंका विभिन्न ६ ठाउँ घुमेका उनीहरु तीनपटक मुस्ताङ, दुईपटक अपरमुस्ताङ, दुईपटक पोखरा सिन्धुपाल्चोकको तातोपानीसमेत दुईपटक बाइकमै पुगेको खुलेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा जेनजी प्रदर्शनमा दावाको नेतृत्वमा सिद्धार्थ तामाङ, विशाल तामाङ, एलभिक घले, निमेश श्रेष्ठ, लाक्पासोनाम, संवृद्ध कार्की, अनिल पराजुली, अपसन तामाङ, एरिक राई, विभुषण पन्थी र सम्राट खत्री सहभागी भएको खुलाएको छ ।

प्रहरीको अनुसन्धानका क्रममा जेनजी प्रदर्शनबारे दावासमूह लामो तयारीमा भने थिएनन् । भदौ २२ गते उनीहरुले सम्पर्कका लागि बनाएको टीओबी (द ओरिजनल ब्रदर) ग्रुपको इन्स्टाग्राममा प्रदर्शनबारे सेनामा शेर्पाले एउटा पोस्ट सेयर गरे ।

प्रहरीका अनुसार त्यही पोष्टपछि उनीहरु पनि २३ गतेको प्रदर्शनका लागि तयार भएको देखिएको छ ।  काठमाडौंका एसपी पवन भट्टराइका अनुसार उनीहरुको समूहमा आफ्नो–आफ्नो ब्लडका आधारमा मान्यताका आधारमा ग्रुपमा बसेका देखिएको छ ।

सोही ग्रुपको म्यासेजका आधारमा उनीहरु भदौ २३ गते बिहान ११ बजे गोपिकृष्ण हल नजिकैको सधैँ बस्ने ‘चिया बस्ती’ मा जम्मा भएर २० वटा मोटरसाइकलमा बानेश्वर आएको खुलेको हो । 

र्‍यालीमा सहभागी र हाल पक्राउ परेका दावाले बिजुलीबजार पुगेपछि भने आबेगमा आएर ‘मेरो देश मलाई फिर्ता चाहियो’ भन्ने अभिव्यक्ति दिएको अनुसन्धानमा खुलेको छ ।

दावाको ओरिजन भने तिब्बत नै भएको खुलेको छ ।

बिजुलीबजारको प्रदर्शनपछि उनीहरुको समूह बानेश्वरतर्फ हानिएका थिए । बानेश्वर पुगेपछि भने दावाको टाउकोमा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेको थियो । पछि मेडिकल पसलमा पुगेर उनीहरुले उपचार गरेपछि घर फर्किएका थिए । २४ गतेको प्रदर्शनमा भने उनीहरु कोही पनि सहभागी नभएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

काठमाडौंका एसपी भट्टराईले भने,‘‘२४ गतेको प्रदर्शनमा टीओबीसमूहका कोही पनि प्रदर्शनमा देखिएका छैनन् ।”

प्रहरीको अनुसन्धानले टीओबीका अध्यक्ष तेन्जिन दावाकी आमा माया लामा भएको खुलाए पनि बुबाबारे भने कुनै जानकारी फेला पारेको छैन ।

सन् २००७ सम्म उनलाई कुङ्गा दावा शेर्पाको सहयोगमा काठमाडौंको बौद्धमा खाने बस्ने व्यवस्था मिलाइदिएको खुलाएको छ । पछिल्लो समय भने दावा ट्याटु आर्टिष्टको काम गर्ने गरेको खुलाएका छन् ।  

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update