काठमाडौं- काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ ।
कार्यक्रम मंसिर १६ गतेबाट सुरु गरिएको हो । यो २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । २६ गते छुटेका सबैलाई सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।
सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसै कारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घ रोगको जोखिम उच्च रहेकोले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ ।सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्धनको नीतिगत सिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृति अनुसारको मोटोपना, रक्त अल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।
सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुम्नपान तथा मद्यपानको आदत, सुत्ने समय, डिजिटल ग्याजेटहरुमा बिताउने समय, कार्य स्थलको वातावरण सम्बन्धी विवरण सङ्कलन हुनेछ । मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्त अल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ ।
सर्वेक्षणमा सहभागी भर्टेक्स फुड्सका अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्त्वहरू धेरै पाइन्छ । जस कारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने महानगरपालिकाले योजना बनाएको छ ।







