Odapalika - The Fourth Estate - चौथो अंग
माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन

काठमाडौँ । मंसिर १५ गते बसेको मन्त्रिपरिषद बैठकले पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा पर्ने धनुवाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई प्रयोग गर्न दिने निर्णय गर्यो ।

सरकारले शक्ति मिनिरल्सलाई सो स्थानको २१.४१ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको छ । सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा उत्खनन् कार्यको लागि सो जमिन उपलब्ध गराइएको हो ।

मन्त्रिपरिषदले सरकारी बन क्षेत्रको जमिन शक्ति मिनिरल्सलाई प्रयोग गर्न दिने निर्णय गरेको हो । माथागढी गाउँपालिकाको धनुवा क्षेत्र सो गाउँपालिकाको वडा नम्बर ७ मा पर्छ ।

सो वडाको वडाध्यक्ष जंगबहादुर दर्लामी हुन् । वडापालिकाले वडाध्यक्ष दर्लामीसँग सम्पर्क गरी तपाईंको वडामा चुनढुंगा उत्खनन कार्य हुँदै रहेछ, स्थानीयको कस्तो प्रतिक्रिया छ भनेर सोधेको थियो । उनले आफ्नो वडामा कुनै परियोजना आउँदैछ भन्ने जानकारी नभएको बताए ।

‘हाम्रो गाउँपालिकाको वडा नं. ७ मा रहेको बन क्षेत्र चुनढुां उत्खनन्को लागि प्रयोग गर्न दिने निर्णय नेपाल सरकारले गरेको भन्ने मैले पनि सुनेको छु । तर, कसले कसरी र कहिलेदेखि उत्खनन् थाल्ने हो भन्ने बारेमा जनकारी छैन,’ वडाध्यक्ष दर्लामीले भने ।

उनले उत्खनन् गर्ने भनिएको धनुवा क्षेत्रसम्म जानको लागि पहुचमार्ग बनाउन थालिएको तर, त्यसमा पनि स्थानीयको विरोध भएपछि त्यसै छोडिएको बताए ।

‘सरकारले कम्पनीलाई बनक्षेत्र प्रयोग गर्न दिने भनेको जमिन अलि विकट क्षेत्रमै पर्छ । केही समयअघि सो स्थानसम्म जानको लागि भनेर गोरेटो बनाउन थालिएको थियो । त्यसमा स्थानीयले केही अवरोध सिर्जना गरेका थिए । त्यसपछि सबै काम रोकिएको छ । कम्पनी कुन हो, कम्पनीका संचालक को हुन भन्ने खासै जानकारी छैन,’ उनले भने ।

वडाध्यक्ष दर्लामीले चुनढुंगा उत्खनन् सुरु गर्ने भएपछि कम्पनीका प्रतिनिधि आएर वातावरणीय प्रभाव मूल्यांकनका विषयमा आफूहरुसँग कुराकानी गर्ने विश्वास गरे । सो समयमा नै विस्तृत जानकारी प्राप्त हुने भन्दै उनले संघ सरकारले स्वीकृत गरेको परियोजनाको लागि स्थानीय सरकारले पनि आफ्नो सीमामा रहेर सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update