महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट ३ पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।
जिल्लाको क्षेत्र नं १ बाट पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनावी मैदानमा छन् । उनीसँगै यस क्षेत्रमा नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो र नेपाली कांग्रेसका मुकेश काफ्ले चुनावी मैदानमा छन् ।
क्षेत्र नं २ बाट पूर्वश्रम रोजगार तथा यातायातमन्त्री शररतसिंह भण्डारी जनता समाजवादी पार्टी नेपालबाट चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादव र नेकपा (एमाले) का कासिम नदाफ पनि प्रतिस्पर्धामा छन् ।
त्यस्तै क्षेत्र नं ३ बाट पूर्वकृषिमन्त्री हरिनारायण यादव र पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान चुनावी मैदानमा छन् । यादवलाई जसपा नेपालले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रिजवान नेपाल संघीय समाजवादी पाटीबाट चुनावी मैदानमा छन् । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार रामआधार कापर, नेपाली कांग्रेसका बजरङ्ग नेपाली, जसपा नेपालकी मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वलकुमार झा र नेकपा (एमाले)का मनोजकुमार सिंह प्रतिस्पर्धामा छन् ।
निर्वाचन क्षेत्र नं ४ बाट पूर्वकृषिमन्त्री महेन्द्रकुमार राय, पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव र पूर्वप्रदेश गृहमन्त्री भरतप्रसाद साह चुनावी मैदानमा छन् । पूर्वमन्त्री महेन्द्रकुमारले नेपाली कांग्रेसबाट, डा सुरेन्द्र जसपा नेपालबाट र भरतप्रसाद नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मैदानमा छन् । यस क्षेत्रबाट एमालेले निलम अधिकारीलाई मैदानमा उतारेको छ ।







