काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा बैधानिक बनाउँनेदेखि सुरुङमार्ग निर्माणसम्मका १४ वुँद प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाको समग्र विकासका लागि ठोस र दीर्घकालीन योजना सहित गाँजा बैधानिक सहितका प्रतिवद्धता सार्वजनिक गरेका हुन् । उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै धनकुटाको आर्थिक–सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता पनि जनाएका हुन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राईले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाइ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
यस्तै चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना शहर निर्माण गर्ने, चिया, एभोकाडो, सुन्तला, किवी, कफी, ड्रागन फल जस्ता कृषि उपजहरूको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरण गरी कृषि बजार केन्द्र सञ्चालन गर्ने राईको प्रतिवद्धतामा उल्लेख छ । यस्तै जेनजीहरुलाई आधुनिक प्रविधिमार्फत नवप्रर्बद्धनात्मक सिकाई र आय आर्जनमा केन्द्रीत गराउने, धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक तल्लो टुडिखेललाई आधुनिक रंगशालामा परिणत गरिने उल्लेख छ ।
राईले प्रादेशिक निर्वाचन क्षेत्रमा एक एक वटा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गर्ने, खुवालुङ–लालीगुराँस पदमार्गको रुपमा त्रिवेणीदेखि पाताल, थलथले, हिले, सिधुवाँ, पटेकडाँडा, चित्रे, हुँदै तीनजुरेसम्म विकास गरिने तथा बराहक्षेत्र मिक्लाजुङ साँस्कृतिक याक्थुङ पदमार्गको रुपमा बराहक्षेत्रदेखि चाँदीबजार, साँगुरीभन्ज्याङ, भेडेटार, ध्वजेडाँडा, राजारानी, जेफाले हुँदै मिक्लाजुङसम्म विकास गरिने बताइएको छ ।
यता धनकुटामा छिन्ताङदेवी, धर्मदेवी, मधुगंगा धामलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, राजारानी ताल र संसारीमाई सिमसार पाख्रीबास, नमस्ते झरना, लेगुवा झरनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने र कृषि उत्पादनको लागि किसानलाई अनुदान र सरल ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने राईले बताए । उनले नमस्ते झरनादेखि नाम्जेसम्म केवलकार निर्माण, आधुनिक कोल्डस्टोरहरु निर्माण र आफू दुइपटक सांसद र मन्त्री बनेका बेला सुरु गरेका तर, अधुरो रहेका सम्पूर्ण विकास परियोजनाहरुलाई सम्पन्न गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् ।







