Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारित मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले २५ दशमलव ५१ प्रतिशत मतदानस्थल मात्रै सामान्य छन् । यहाँका ९ जिल्लामा गरी १ हजार १ सय ७६ मतदानस्थल छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१ फागुनमा हुने मतदानमा सुदूरपश्चिम प्रदेशमा निर्धारण गरिएको १ हजार १ सय ७६ मतदानस्थलमध्ये ३ सय वटा मात्रै सुरक्षाका दृष्टिले सामान्य रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार ४ सय ८१ (४० दशमलव ९१ प्रतिशत) मतदानस्थल अतिसंवेदनशील र ३ सय ९५ (३३ दशमलव ५८ प्रतिशत) मतदानस्थल संवेदनशील छन् ।

कैलाली जिल्लामा सबैभन्दा बढी १ सय ८ मतदानस्थल अतिसंवेदनशील छन् । २ सय ३७ मतदानस्थल रहेको यस जिल्लामा १ सय ६ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल सामान्य छन् । कञ्चनपुर जिल्लाका १ सय ३२ मतदान स्थलमध्ये ६६ अतिसंवेदनशील, ४० संवेदनशील र २६ सामान्य सूचीमा छन् ।

डोटीको १ सय १८ मतदानस्थलमध्ये १३ अतिसंवेदनशील, ४४ संवेदनशील र ८१ सामान्य मतदानस्थलमा राखिएको छ । अछामको १ सय ३० मतदानस्थलमध्ये ६६ अतिसंवेदनशील, ५० संवेदनशील र १४ सामान्य रहेको बताइएको छ । 

डडेलधुराको १ सय ४ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, ३४ संवेदनशील र ३७ सामान्यको सूचीमा परेका छन् । दार्चुलाको १ सय १२ मतदानस्थलमध्ये १५ संवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य मतदानस्थलको सूचीमा परेको छ । 

बैतडीको १ सय २९ मतदानस्थलमध्ये ३३ लाई अति संवेदनशील, २८ लाई संवेदनशील र ६८ लाई सामान्यको सूचीमा राखिएको छ ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल बाजुरामा छन् । बाजुरामा सामान्य मतदानस्थल ३ वटा मात्रै छन् ।

बाजुराको ७७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशील र १२ मतदानस्थल संवेदनशीलको सूचीमा परेका छन् ।  बझाङमा पनि ३ वटा मतदानस्थल मात्रै सामान्यको सूचीमा छन् । बझाङको १ सय ३७ मतदानस्थलमध्ये ८५ मतदानस्थललाई अतिसंवेदनशील र १२ मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update