काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो ।
निगमको निर्णयअनुसार नयाँ मूल्य आजै राति १२:०१ बजेदेखि लागू हुनेछ । मूल्य समायोजन पश्चात् अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ पुगेको छ ।
त्यस्तै, तराईका क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर १८४.५० रुपैयाँ र डिजेल/मट्टितेल १६४.५० रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल १८६ रुपैयाँ र डिजेल १६६ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तर वृद्धिका कारण निगम ठूलो घाटामा रहेको विज्ञप्तिमा उल्लेख छ ।
निगमका अनुसार मूल्य स्थिरीकरण कोषको उपयोग गर्दा समेत आगामी १५ दिनमा निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय बजारबाट सोचेअनुरूप मूल्य नघटेसम्म तत्काल मूल्य घटाउन नसकिने समेत निगमले स्पष्ट पारेको छ ।
निगमले उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन र अनावश्यक खपत घटाउन समेत अपिल गरेको छ ।






