राष्ट्रपतिले जारी गरे ६ वटा अध्यादेश, अब बाँकी कतिवटा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ८ वटा अध्यादेशमध्ये ६ वटा जारी भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुृसार आज राष्ट्रपतिले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।

सरकारले सिफारिस गरेका अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छैनन् । त्यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न भन्दै सिफारिस भएको अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल गरिरहेका छन् ।

राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।

राष्ट्रपति कार्यालयबाट १७ वैशाख गते बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो ।

वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।

राष्ट्रपतिले आज वैशाख १९ गते शनिबार एकैसाथ तीन वटा अध्यादेश जारी गरेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ शनिबार दिउँसो जारी भएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update