काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था बदर गरिदिएको छ ।
मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर घोषित गरिएको हो ।
दफा २१४(२) अनुसार ‘विधवाले अर्को विवाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैँले लिन पाउनेछ,’ भन्ने प्रावधान थियो ।
महिला कानुन र विकास मञ्च (एफडब्ल्युएलडी) को तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले रिट दिएकी थिइन् । रिटमा एकल पुरुषको हकमा सम्पत्ति फिर्ताको व्यवस्था नभएको, तर एकल महिलाको हकमा सम्पत्ति फिर्ताको व्यवस्था रहेको दाबी गरिएको थियो।
देवानी संहिताको उक्त व्यवस्थाले समानताको हक र महिलासम्बन्धी हक प्रतिकुल भएको जिकिर समेत रिटमा गरिएको थियो । माग बमोजिम मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था आजैका मितिदेखि खारेज भएको छ ।





