काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन् । ह्वाइट हाउसमा मंगलबार आयोजित ब्रिफिङमा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युरी’को चरण पूरा भएको जानकारी दिएको टाइम अखबारले जनाएको छ ।
ब्रिफिङका क्रममा रुबियोले भने, “अपरेसन एपिक फ्युरी समाप्त भएको छ । राष्ट्रपतिले कंग्रेसलाई जानकारी गराएअनुसार हामीले त्यो चरणको काम पूरा गरेका छौँ ।”
उनले अब अमेरिका रक्षात्मक अवस्थामा सरेको स्पष्ट पारे । उनका अनुसार अबको मुख्य ध्यान इरानी बन्दरगाहहरूको नाकाबन्दी लागु गर्ने तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमा व्यावसायिक आवतजावत पुनः सुचारु गराउनेमा केन्द्रित हुनेछ ।
रुबियोले भने, “हामीमाथि पहिले आक्रमण भएमा मात्र हामी जवाफ दिनेछौँ । यो एक रक्षात्मक अभियान हो । यदि, हाम्रा जहाज वा सेनामाथि गोली प्रहार भएन भने हामी पनि गोली चलाउने छैनौँ । तर, आक्रमण भएमा कडा जवाफ दिइनेछ ।”
विदेशमन्त्री रुबियोले होर्मुज जलमार्गमा जारी द्वन्द्वका कारण हालसम्म १० जना सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरे । उनले भने, “उनीहरू एक्लिएका छन्, भोकमरीको अवस्थामा छन् र असुरक्षित छन् ।”
यो घोषणाले अमेरिका र इजरायलको इरानसँगको प्रत्यक्ष युद्धको एक चरण समाप्त भएको संकेत गरे पनि होर्मुज जलमार्गमा जारी अवरोध र छिटपुट आक्रमणका कारण युद्धविरामको अवस्था अझै अनिश्चित र संवेदनशील रहेको विश्लेषण गरिएको छ ।





