काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदबहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराएलगत्तै उनले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् ।
नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मेका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।
न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गरेका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए । प्रधानन्यायाधीश डा शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।






